
काभ्रेपलाञ्चोक, वैशाख १५ गते ।
कला र अभिनयप्रति रुचि राख्ने युवाहरूका लागि खुसीको खबर आएको छ। काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक पनौतीमा तीनमहिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सुरु गरिएको छ।
शाइली थिएटरको आयोजनामा तथा काभ्रे इंग्लिश सेकेन्डरी स्कूल, पनौतीको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यशालाको उद्घाटन सोमबार बिहान सम्पन्न भयो। कार्यशालाको उद्घाटन ‘लसुन जोडी’का लक्ष्मण माताछेको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालको आतिथ्यतामा गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेललगायत स्थानीय कलाकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तीन महिनासम्म सञ्चालन हुने कार्यशालामा सहभागीहरूलाई मञ्च तथा सडक नाटक, छोटा चलचित्र, म्युजिक भिडियो, विज्ञापन तथा वेब–सिरिजजस्ता विभिन्न विधामा अभिनयसम्बन्धी व्यवहारिक सीप र अनुभव प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यशालाको सञ्चालन नाट्य कलाकार, निर्देशक तथा लेखक नवराज बुढाथोकीले गर्नेछन्। आयोजकका अनुसार यस कार्यक्रममार्फत स्थानीय स्तरमै लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई व्यावसायिक अभिनय क्षेत्रमा अघि बढ्न सहयोग पुग्ने विश्वास गरिएको छ।
थप जानकारीका लागि इच्छुकले रुपेश गौतमसँग सम्पर्क गर्न सक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया