रगतको माग बढ्दो, नियमित रक्तदाता अझै कम

विश्व रक्तदाता दिवसले सचेतना बढाए पनि डर, भ्रम र कमजोर दर्ता प्रणालीका कारण स्वैच्छिक रक्तदान अभियानले अपेक्षित गति लिन सकेन
रगत मानव जीवन बचाउने अमूल्य औषधि हो, जसको कुनै कृत्रिम विकल्प छैन । दुर्घटना, शल्यक्रिया, प्रसूति जटिलता, क्यान्सर तथा विभिन्न रोगका बिरामीका लागि रगत जीवन र मृत्युबीचको सेतु बन्ने गर्छ । तर नेपालमा रगतको आवश्यकता वर्षेनि बढ्दै गए पनि नियमित स्वैच्छिक रक्तदाताको सङ्ख्या भने अपेक्षित रूपमा बढ्न सकेको छैन ।

स्वास्थ्य विज्ञहरूका अनुसार एक स्वस्थ व्यक्तिले वर्षमा तीनदेखि चार पटकसम्म सुरक्षित रूपमा रक्तदान गर्न सक्छ । तर रक्तदानले शरीर कमजोर बनाउँछ, स्वास्थ्यमा असर गर्छ वा रगत कम हुन्छ भन्ने भ्रम अझै समाजमा विद्यमान छ । यही कारण धेरै व्यक्ति आवश्यक पर्दा मात्र रक्तदान गर्छन्, नियमित रूपमा होइन ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार देशभरबाट वार्षिक करिब दुई लाख युनिट रगत सङ्कलन हुने गरेको छ । तर अस्पताल तथा स्वास्थ्य संस्थामा वार्षिक तीनदेखि चार लाख युनिटसम्म रगतको आवश्यकता पर्ने अनुमान छ । माग र आपूर्तिबीचको यही अन्तरले बेला–बेलामा रगत अभावको अवस्था सिर्जना गरिरहेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताका अनुसार दुर्घटना, जटिल शल्यक्रिया, प्रसूति सेवा र दीर्घरोगी बिरामीका लागि रगतको माग निरन्तर बढिरहेको छ । विशेष गरी बर्खायाम, चाडपर्व र जाडो मौसममा रक्तदान कार्यक्रम कम हुने भएकाले रगतको अभाव झन् गम्भीर बन्ने गरेको छ ।

रक्तदान अभियानमा सक्रिय स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेससागर कर्माचार्य नियमित रक्तदाताको संख्या वृद्धि गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुहुन्छ । उहाँका अनुसार रक्तदान कुनै आकस्मिक कार्य मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको निरन्तर अभियान हो । विद्यालय, क्याम्पस, स्थानीय तह तथा सामुदायिक संस्थामार्फत रक्तदान संस्कृतिलाई विस्तार गर्न सके रगत अभावको समस्या धेरै हदसम्म समाधान हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुनै पनि देशमा कुल जनसङ्ख्याको कम्तीमा एकदेखि दुई प्रतिशत नागरिकले नियमित रक्तदान गरेमा राष्ट्रिय आवश्यकता पूरा गर्न सकिन्छ । विश्वभर हरेक वर्ष १२ करोडभन्दा बढी युनिट रगत सङ्कलन हुने गरे पनि न्यून आय भएका मुलुकमा सुरक्षित र पर्याप्त रगतको उपलब्धता अझै चुनौतीकै विषय बनेको छ ।

विश्व रक्तदाता दिवस प्रत्येक वर्ष जून १४ मा मनाइन्छ । यस वर्ष ‘मानवताका लागि एक थोपा : रगत दिऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिए । दिवसले रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गरेको भए पनि नेपालमा अझै नियमित रक्तदाताको बलियो आधार तयार हुन सकेको छैन ।

जीवन बचाउने यो महान् अभियानलाई सफल बनाउन सरकार, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक छ । रक्तदानलाई केवल आपत्कालीन आवश्यकतासँग मात्र जोडेर होइन, जीवन बचाउने नियमित सामाजिक संस्कृतिका रूपमा विकास गर्न सके मात्रै रगत अभावको समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ ।

तपाईको प्रतिक्रिया