कांग्रेसका क्रियाशील सदस्य अद्यावधिक

नेपाली कांग्रेसका छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकपछि महामन्त्री प्रदीप पौडेलले कुल सात लाख ८२ हजार २०९ मध्ये वडा तहमार्फत र डिजिटल प्रणालीमार्फत स्वयं अद्यावधिक फाराम भरेका गरी छ लाख ८७ हजारभन्दा बढी क्रियाशील सदस्यको जानकारी प्रणालीमा प्रविष्ट गरिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार संख्यामध्ये पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले ‘एनसी आइडी’ प्राप्त गरेका छन् । उहाँले एक लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यले पेश गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भइ वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देश गरेको छ ।”

महामन्त्री एवं समिति संयोजक पौडेलले इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी जिल्लाका केही पालिका तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय असार ७ गतेसम्म कायम गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया