काभ्रेपलाञ्चोक, वैशाख १५ गते । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाको आयोजनामा ‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल नाराका साथ ‘छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिइएको हो।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले प्रतियोगिताबारे जानकारी दिनुभयो ।
करिब २४ वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा सञ्चालनमा रहेको प्रतिष्ठानले नैतिक, व्यवहारिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै किण्डरगार्टेनदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ। संस्थाबाट उत्पादित विद्यार्थीहरू स्वास्थ्य, इन्जिनियरिङ, बैंकिङ, उद्योग–व्यवसाय, सुरक्षा निकाय, निजामती सेवा, शिक्षा, सञ्चार तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा सक्रिय रहँदै राष्ट्र निर्माणमा योगदान पु¥याइरहेका छन्।
प्रतिष्ठानले शैक्षिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सांस्कृतिक, साहित्यिक, धार्मिक तथा खेलकुदसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा एस.ई.ई. परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले रोड रेस आयोजना गर्न लागिएको जनाइएको छ।
कार्यक्रममार्फत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा समयको सदुपयोग गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ। साथै ‘सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद’ भन्ने सन्देशलाई व्यवहारमा उतार्न पनि कार्यक्रमले सहयोग पुग्ने विश्वास आयोजकको छ।
कार्यक्रम विवरण अनुसार प्रतियोगिता वैशाख २६ गते शनिबार बिहान ७ः३० बजे सुरु हुनेछ। छात्र र छात्रा दुवै समूहका लागि छुट्टाछुट्टै दौड रहनेछ। छात्रातर्फ ३.६ किलोमिटर (तीनदोबाटो–चारदोबाटो–चण्डेश्वरी हुँदै विद्यालय) र छात्रतर्फ ७ किलोमिटर (पनौतीदेखि विद्यालयसम्म) दूरी निर्धारण गरिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सहभागी हुन इच्छुक विद्यार्थीहरूले एस.ई.ई. परीक्षा प्रवेशपत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ। नाम दर्ताको अन्तिम मिति वैशाख २४ गते तोकिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सञ्चारकर्मी तथा सरोकारवाला निकायको सहयोग रहने आयोजकले अपेक्षा व्यक्त गरेको छ।
यसपटक काभ्रेपलाञ्चोक जिल्लाबाट एसइ परीक्षामा सहभागी छात्रछात्रालाई प्रतियोगितामा सहभागी गराउने लक्ष्य विद्यालयले लिएको छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोद न्यौपाने पूर्व अध्यक्ष मोतीराम तिमल्सिना महेशराज पौडेल इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाती जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल ध्वाँजु, विद्यालय प्रशासनका व्यक्तित्वहरू काभ्रेका सक्रिय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया