काभ्रे, वैशाख १५ — काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक तीन महिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सञ्चालन हुने भएको छ। शाइली थिएटरको आयोजनामा हुन लागेको उक्त कार्यशाला काभ्रे इंग्लिश सेकेन्डरी स्कूल, पनौतीको सहकार्यमा सञ्चालन गर्न लागिएको हो।
कार्यशालामार्फत इच्छुक तथा प्रतिभाशाली युवालाई अभिनय क्षेत्रमा आवश्यक सीप र अनुभव प्रदान गरिने आयोजकले जनाएको छ। सहभागीहरूले मञ्च तथा सडक नाटक, छोटा चलचित्र, म्युजिक भिडियो, विज्ञापन तथा वेब–सिरिजजस्ता विभिन्न विधामा काम गर्ने अवसर पाउने बताइएको छ।
कार्यक्रमको उद्घाटन समारोह वैशाख १५ गते बिहान ७ बजे काभ्रे इंग्लिश सेकेन्डरी स्कूल, पनौतीमा हुने तय गरिएको छ। कार्यशालाको सञ्चालन नाट्य कलाकार, निर्देशक तथा लेखक नवराज बुढाथोकीले गर्नेछन्।
आयोजकका अनुसार कार्यशालाले स्थानीय स्तरमै लुकेर रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई व्यावसायिक अभिनय क्षेत्रमा अघि बढ्न सहयोग पुर्याउने विश्वास गरिएको छ। थप जानकारीका लागि रुपेश गौतमलाई सम्पर्क गर्न सकिने जनाइएको छ।
काभ्रेपलाञ्चोकमा पहिलो पटक नाट्य अभिनय कार्यशाला
2026-04-28T06:13:35+05:45

तपाईको प्रतिक्रिया