
काठमाडौं उपत्यकाको व्यस्त सडक, बढ्दो सवारी चाप र दैनिक दुर्घटनाका समाचारले सडक सुरक्षालाई अहिलेको सबैभन्दा गम्भीर सार्वजनिक चासोको विषय बनाएको छ । यही सन्दर्भमा मनाइँदै गरेको ‘विश्व सडक सुरक्षा सप्ताह–२०२६’ लाई अवसरका रूपमा उपयोग गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन, जनचेतना र सेवामुखी कार्यशैलीलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरेको छ ।
सप्ताह केवल औपचारिक कार्यक्रममा सीमित छैन । ट्राफिक प्रहरीले यसलाई नागरिकको व्यवहार परिवर्तन र सवारी संस्कृतिमा सुधार ल्याउने अभियानका रूपमा अघि बढाएको देखिन्छ । कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा स्थापित गर्न खोजेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले सङ्गठनभित्र पारदर्शिता, आपसी विश्वास र उत्तरदायित्व कायम गर्दै कर्मचारीमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ । उहाँका अनुसार प्रभावकारी सेवा प्रवाहका लागि ट्राफिक प्रहरी स्वयं उत्तरदायी र जनउत्तरदायी हुन आवश्यक छ ।
यस वर्षको सप्ताहमा विशेषगरी दुईपाङ्ग्रे सवारी चालकलाई लक्षित गरी ‘दुई मिनेट ट्राफिक सचेतना’ कार्यक्रम सञ्चालन गरिएको छ । उपत्यकामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलसँग सम्बन्धित हुने भएकाले छोटो समयमै चालकलाई जिम्मेवार बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
काठमाडौँका मुख्य सडक, चोक र सार्वजनिक स्थलहरूमा ट्राफिक प्रहरीले चालक, सहचालक र यात्रुसँग प्रत्यक्ष संवाद गर्दै हेल्मेटको अनिवार्य प्रयोग, सिटबेल्ट बाँध्ने बानी, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, तीव्र गति नियन्त्रण गर्ने र ट्राफिक संकेतको पालना गर्न आग्रह गरिरहेको छ ।
सडक दुर्घटना केवल एउटा घटनामात्र होइन, यसले परिवार, समाज र राष्ट्रलाई नै गहिरो पीडा दिने गर्छ । धेरै दुर्घटना सामान्य लापरवाहीकै कारण हुने भएकाले सचेतना नै सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । ट्राफिक प्रहरीको अभियानले यही सन्देश प्रवाह गर्न खोजेको देखिन्छ—“सुरक्षित यात्रा अनुशासनबाट सुरु हुन्छ ।”
कार्यालयले सार्वजनिक सवारी व्यवस्थापनतर्फ पनि ध्यान केन्द्रित गरेको छ । आरक्षण सिट कार्यान्वयन, भाडादर सूची टाँस्ने व्यवस्था, सवारीमा सिसिटिभी क्यामरा तथा जिपिएस प्रणाली जडानजस्ता विषयलाई अभियानको प्राथमिकतामा राखिएको छ । चालकलाई यात्रुमैत्री व्यवहार अपनाउन, क्षमताभन्दा बढी यात्रु नराख्न र मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउन पनि आग्रह गरिएको छ ।
पैदलयात्रुको सुरक्षालाई समेत उत्तिकै महत्व दिइएको छ । जेब्रा क्रसिङ र आकाशे पुल प्रयोग गर्ने बानी विकास गर्न तथा टिकट लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
ट्राफिक प्रहरीले विद्यालय, कलेज र समुदायसँग सहकार्य गरी ट्राफिक शिक्षा कार्यक्रम सञ्चालन गर्नु अर्को सकारात्मक पक्ष हो । विद्यालय तहदेखि नै सडक अनुशासन र ट्राफिक नियमबारे शिक्षा दिन सके भविष्यमा जिम्मेवार नागरिक तयार गर्न सकिने विश्वास प्रहरीको छ ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार सडक सुरक्षामा प्रहरी एक्लैले सफलता हासिल गर्न सक्दैन । चालक, यात्रु, पैदलयात्री र समुदाय सबैको सहभागिता र जिम्मेवारीबोध आवश्यक हुन्छ ।
विश्व सडक सुरक्षा सप्ताहले एउटा महत्वपूर्ण सन्देश दिएको छ—सडक केवल गन्तव्यमा पुग्ने माध्यम होइन, जीवनसँग प्रत्यक्ष जोडिएको सार्वजनिक क्षेत्र हो । यहाँको सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ भने सानो सचेतनाले ठूलो जीवन जोगाउन सक्छ ।
काठमाडौंका व्यस्त सडकमा ट्राफिक प्रहरीको यो अभियानले कम्तीमा नागरिकलाई एकछिन रोकेर सोच्न बाध्य बनाएको छ—“के म सुरक्षित यात्राका लागि जिम्मेवार छु ?”

तपाईको प्रतिक्रिया