दोस्रो मेयर कप कराते प्रतियोगिता : खेलमार्फत अनुशासन, स्वास्थ्य र प्रतिभाको उत्सव

बनेपा/स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुदÆ भन्ने नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषद्को नीतिलाई आत्मसात गर्दै काभ्रेपलाञ्चोकमा दोस्रो मेयर कप कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी अनुशासन, आत्मविश्वास र सामाजिक एकताको माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जिल्लाभरका खेलाडीमा नयाँ ऊर्जा थपेको छ ।
नेपाल कराते महासंघ काभ्रेको आयोजनामा, नेपाल सितोरियो कराते संघ र काभ्रे कराते एकेडेमीको सह–आयोजनामा तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपामा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाभरिका विभिन्न डोजो र विद्यालयबाट आएका खेलाडी, प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतियोगिताको शुभारम्भ बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले कार्यक्रम संयोजक तथा जिल्ला रेफ्री संयोजक श्याम सुन्दर कुँवरलाई खेल सामग्री हस्तान्तरण गर्दै गर्नुभएको थियो । औपचारिक उद्घाटन भने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे ले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थिया ।

उद्घाटन समारोहमा नगर प्रमुख शाक्य, उपप्रमुख बिमला सापकोटा, विभिन्न वडा अध्यक्ष, जनप्रतिनिधि तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाल कराते महासंघ काभ्रेका अध्यक्ष प्रताप बैद्यको सभापतित्व तथा नेपाल सितोरियो कराते संघ काभ्रेका अध्यक्ष सुरेश कारन्जित को सह–अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ ९५ र महिलातर्फ ५७ गरी कुल १५२ खेलाडी सहभागी भएका थिए । विभिन्न डोजो र विद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए । पदक तालिकामा पाँचखाल डोजो अग्रस्थानमा रहँदै ६ स्वर्ण, १ रजत र १ कास्य पदकसहित टिम च्याम्पियन बन्न सफल भयो। साँगा डोजो ४ स्वर्ण, १ रजत र ३ कास्यसहित दोस्रो तथा काभ्रे कराते एकेडेमी २ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो ।

प्रतियोगिताले केवल पदक विजेतामात्र नभई उदाउँदा प्रतिभालाई पनि उजागर गरेको देखियो । भुम्लु डोजोका सायाङ्ग लामा उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने काभ्रे कराते एकेडेमीकी रसिना प्रधान उत्कृष्ट महिला खेलाडी बन्न सफल भइन्। नेपाल पुलिस स्कुलकी श्रेया बोहोरा ले उदयीमान खेलाडीको उपाधि प्राप्त गरिन्।

समापन समारोहमा नगर प्रमुख शान्ति रत्न शाक्य, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा सदस्य रामेश्वरी मानन्धर लगायत अतिथिहरूले विजेता खेलाडीलाई पदक, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूलाई नगदसहित सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो भने बनेपा नगरपालिकालाई समेत कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा आमन्त्रित अतिथिका लागि आयोजकले भोजनको व्यवस्था गरेको थियो । सह–आयोजक संस्था काभ्रे कराते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा रामेश्वरी मानन्धरले स्वागत मन्तव्य राख्नुभएको थियो भने संयोजक श्यामसुन्दर कुँवरले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
जिल्लास्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादन मात्र होइन, युवामा अनुशासन, आत्मरक्षा र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूको रहेको छ। प्रतियोगिताले काभ्रेमा कराते खेलप्रतिको आकर्षण र सम्भावना अझ बलियो बनेको सन्देश दिएको प्रचार प्रमुख कविरकुमार रंजिकारले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया