नमोबुद्धमा बर्ड फ्लु पुष्टि कागहरूमा ‘एच–९’ संक्रमण भेटियो, कुखुरा फार्म र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

नमोबुद्धमा बर्ड फ्लु पुष्टि
कागहरूमा ‘एच–९’ संक्रमण भेटियो, कुखुरा फार्म र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काभ्रेपलाञ्चोक, जेठ ७ गते । नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्ड फ्लु रोग पुष्टि भएपछि स्थानीय प्रशासन र पशु स्वास्थ्य निकाय सतर्क बनेका छन् । नगरपालिका वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक आसपास मरेका कागहरूको परीक्षण गर्दा ‘लो प्याथोजेनिक एच–९ (H9)’ प्रकारको बर्ड फ्लु संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका अनुसार केही दिनयता उक्त क्षेत्रमा कागहरू अस्वाभाविक रूपमा दैनिक मर्न थालेपछि स्थानीयले जानकारी गराएका थिए । पन्छीहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदनले ‘एच–९’ प्रकारको बर्ड फ्लु पुष्टि गरेको नगरपालिकाले जनाएको छ ।

बर्ड फ्लु मुख्यतः पन्छीहरूमा फैलिने भाइरल रोग हो । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, दिसा, र्याल तथा दूषित सामग्रीमार्फत रोग फैलिन सक्छ । विशेषज्ञहरूका अनुसार ‘एच–९’ प्रकारको संक्रमण उच्च घातक नभए पनि यसले कुखुरा व्यवसायमा ठूलो असर पार्न सक्छ । संक्रमण नियन्त्रणमा लापरवाही भए अन्य क्षेत्रमा समेत फैलिने जोखिम रहने भएकाले नगरपालिकाले तत्काल सतर्कता अपनाउन आग्रह गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनामा कुखुरा फार्ममा जैविक सुरक्षा प्रणाली अनिवार्य रूपमा लागू गर्न भनिएको छ । फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, फार्म परिसर नियमित रूपमा निःसंक्रमण गर्न तथा अन्य पशुपन्छीको प्रवेश नियन्त्रण गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, कृषकलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, बिरामी वा अस्वाभाविक व्यवहार देखिएका कुखुरा छुट्टै राख्न तथा तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । खुला रूपमा कुखुरा पालन नगर्न तथा जथाभावी कुखुरा ओसारपसार नगर्न पनि अनुरोध गरिएको छ ।

नगरपालिकाले कुखुरा तथा कुखुराजन्य पदार्थ ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराई भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ । कुनै फार्म वा बिक्री केन्द्रमा अचानक धेरै कुखुरा बिरामी वा मृत भेटिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न भनिएको छ ।

काभ्रेपलाञ्चोकमा यसअघि पनि विभिन्न समयमा पन्छीजन्य रोगको जोखिम देखिँदै आएको भए पनि यस पटक कागहरूमा संक्रमण पुष्टि भएपछि स्थानीयवासीमा चिन्ता बढेको छ । पशु स्वास्थ्यकर्मीहरूले संक्रमणबारे अफवाह फैलाउनुभन्दा सतर्कता र वैज्ञानिक उपाय अपनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया