
नेपाल कम्युनिस्ट पार्टी -एमाले) मा पदाधिकारीहरूको मर्यादाक्रम -वरीयता) निर्धारणको नयाँ प्रस्ताव अघि सारिएको छ ।
सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको जिम्मेवारी हेरफेरका साथै पदाधिकारीहरूको वरीयता सम्बन्धी नयाँ खाका समेत पेस गर्नुभएको हो । एमाले सचिव डा.राजन भट्टराईका अनुसार बैठकमा नाम पेस भएको सचिवालय बैठकबाट नै नाम थपघटको निर्णय हुने उल्लेख गर्नुभयो । प्रस्तावित नयाँ वरीयता अनुसार अध्यक्ष ओलीपछिको दोस्रो स्थान अर्थात् उपाध्यक्षहरूमध्ये पहिलो नम्बरमा रामबहादुर थापा ÚबादलÚ लाई राखिएको छ । एमाले पदाधिकारीहरूको प्रस्तावित वरीयतामा अध्यक्ष केपी शर्मा ओली, त्यसपछि उपाध्यक्षहरु रामबहादुर थापा,विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तको नाम सिफारिस गरिएको छ । त्यसपछि महासचिव शंकर पोखरेल, उपमहासचिवहरु लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईको नाम प्रस्ताव गरिएको छ । सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई,डा.राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत बस्नेतको नाम प्रस्तावित गरिएको छ ।
एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव अघि सारेको छ । सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङले कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गर्नुभएको हो । सचिवालय बैठकले छ सदस्यीय संविधान संशोधन कार्यदल गठन प्रस्ताव गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई हुनुहुन्छ । शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्नेछ । बैठकमा एमालेका विभिन्न विभाग, प्रदेश र जिल्लाका ईन्चार्जको जिम्मेवारीको बिषयमा निर्णय हुनेछ ।

तपाईको प्रतिक्रिया