अनिवार्य अवकाशका कारण गुल्मीदरबार गाउँपालिका–७ की ६० वर्षीया सुमित्रा खड्कालाई बिहीबार गाउँपालिकाले नगदसहित खादामाला लगाएर बिदाइ गरेको छ । उहाँ २०५३ साल जेठ ७ गतेदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
समाजसेवामा बितेका तीन दशक कसरी बिते, खड्कालाई पत्तै भएन । तर, जन्मोत्सवकै दिन बिदाइको खादामाला लगाउँदा भने उहाँको मन अमिलो भयो । खड्कासँग पेशागत जीवनका कैयौँ सुखदुःखका अनुभव छन् । उहाँको सङ्घर्ष नै गुल्मीदरबारको स्वास्थ्य क्षेत्रको अहिलेको अवस्थाको आधार बनेको छ ।
यो कार्यक्रम गत आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइएको हो । गत मंसिरमा पनि गाउँपालिकाले चार जना स्वयंसेविकालाई अनिवार्य अवकाश दिएको थियो । गुल्मीदरबार गाउँपालिका–७ की ६१ वर्षीया सीता श्रेष्ठले आफू बिदाइ हुँदा बिहेमा अन्मिँदा जस्तै पीडा भएको बताउनुभयो । २७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्नुभएकी श्रेष्ठले गाउँपालिकाले आफूहरूका लागि सम्मानजनक काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार तत्कालीन समयमा स्वयंसेविका बन्न विवाहित महिला खोजिन्थ्यो । स्वयंसेविका बन्न कसैले मान्दैनथे । सुविधा केही थिएन, चुनौती धेरै थिए । घर छोडेर बाहिर जाँदा श्रीमान् र सासुससुरालाई कुरा बुझाउन निकै कठिन हुन्थ्यो । घरघरमा पुग्ने, बोल्ने र स्वास्थ्यसम्बन्धी जानकारी गराउने काम गर्दा समाजले फरक दृष्टिले हेर्ने र गिज्याउनेसमेत गर्थ्यो । तर, आफू कहिल्यै विचलित नभई काममा लागिरहेकी श्रेष्ठले अनुभव सुनाउनुभयो ।
पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चित पालिका घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले पुरानाको सम्मान र नयाँलाई ऊर्जा दिन सम्मान कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
उहाँले गुल्मीदरबार आधारभूत अस्पताल सञ्चालन, स्वास्थ्य बीमा कार्यान्वयन, विशेषज्ञ शिविर, ज्येष्ठ नागरिक स्वास्थ्योपचार तथा सुनौलो हजार दिनका आमा र बालबालिकाको क्षेत्रमा गाउँपालिकाले उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
गुल्मीदरबार गाउँपालिकाले हालसम्म ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविका सावित्रा खड्का, सीता श्रेष्ठ, लक्ष्मी कार्की, भगवती टण्डन र राधिका रानालाई जनही ५० हजार रुपियाँसहित बिदाइ गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गुल्मीदरबारमा ८३ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । गाउँपालिकाले हरेक वर्ष स्वयंसेविकालाई सम्मान गर्दै आएको छ । गाउँपालिका पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चित पालिका घोषणा भइसकेको छ । कार्यक्रममा यी अभियान सफल बनाउन योगदान गर्ने वडा कार्यालय, स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।
गुल्मीदरबार गाउँपालिका देशकै पहिलो पोषणमैत्री स्वास्थ्ययुक्त गाउँपालिका घोषणा भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चित गर्न सञ्चालन गरिएका गतिविधिबारे जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष तारा थापा ढेँगाले मानव जीवनमा स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया