काभ्रेपलाञ्चोक, जेठ ६ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहतका इकाइहरूले तीनपाङ्ग्रे सवारी (अटो) चालकलाई लक्षित गर्दै ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
क्षेत्रमा सञ्चालन हुने अटोबाट हुने सम्भावित सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रममा अटो चालकलाई लेन अनुशासनको पालना, ट्राफिक साइनको जानकारी, सुरक्षित ड्राइभिङ, तीव्र गतिमा सवारी नचलाउनेलगायत विषयमा जानकारी गराइएको थियो । साथै अस्पताल, विद्यालय तथा संवेदनशील क्षेत्रमा प्रेसर हर्न प्रयोग नगर्न, सवारी चालक अनुमतिपत्र तथा आवश्यक कागजात अनिवार्य साथमा राखेर मात्र सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो ।
ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्णपालना गर्न तथा यात्रुमैत्री व्यवहार अपनाउन समेत अनुरोध गरेको छ । कार्यालयका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया