
काभ्रेपलाञ्चोकको बनेपामा मनाइने चण्डेश्वरी जात्रा धार्मिक, सांस्कृतिक र तान्त्रिक परम्पराले भरिएको ऐतिहासिक जात्राका रूपमा परिचित छ । विशेषगरी æमत पूजाÆ, æपरनाम स्तोत्र पाठÆ, देवाली पूजा, रथ निर्माण तथा चण्डेश्वरीको शक्ति आराधनाले यस जात्रालाई अन्य जात्राभन्दा विशिष्ट बनाएको मानिन्छ ।
परनाम स्तोत्र पाठबाट सुरु हुने धार्मिक माहोल
चण्डीपूर्णिमाभन्दा करिब एक महिनाअघि नै बनेपाका घरघरमा æपरनामÆ भनिने चण्डेश्वरी स्तोत्र पाठ सुरु हुन्छ । चण्डेश्वरी देवीलाई आवाहन गर्दै गरिने यो स्तोत्र पाठ जात्राको मुख्य आध्यात्मिक आधारका रूपमा लिइन्छ ।
देवाली पूजा र शान्ति स्वस्तिको परम्परा
जात्रा सुरु हुनुभन्दा एक हप्ता अगाडि अष्टमीका दिन भोछिभोया खलक -स्ये–स्ये) हरूले चण्डेश्वरीमा विशेष देवाली पूजा गर्दछन् । देगुद्य पूजा, दिग्पूजा, दिसीपूजा जस्ता विभिन्न नामले परिचित यो पूजा तान्त्रिक विधिअनुसार पशुबली चढाई कुलदेवता र पूर्खालाई सम्झेर गरिन्छ ।
देवालीपछि जात्रा सञ्चालन हुने मार्गहरूमा भात छर्ने चलन पनि रहेको छ । यसलाई जात्रामा कुनै बाधा नआओस्, शान्ति स्थापना होस् र जात्रा सफलतापूर्वक सम्पन्न होस् भन्ने उद्देश्यसँग जोडेर हेरिन्छ ।
तीनधारामा रथ निर्माणको परम्परा
चण्डीपूर्णिमाको चार दिनअघि बनेपाको तीनधारा स्वधा टोलको डबलीमा रथ निर्माण सुरु हुन्छ । रथ बनाउनका लागि ३०–३२ जनाको समिति गठन गरिएको हुन्छ, जसमा मानन्धर समुदायका नाइकेहरूको मुख्य भूमिका रहने गर्दछ ।
रथको मूल काठ भक्तपुरको सल्लाघारीबाट पूजा गरी ल्याउने परम्परा रहेको छ । साथै, चण्डेश्वरीका गरगहना लायकूमा ल्याएर सफाइ गर्ने कार्य पनि यही अवधिमा गरिन्छ ।
ठूलो गुठीको तान्त्रिक पूजा
चण्डीपूर्णिमाको अघिल्लो साँझ बनेपाको तः गुठी -ठूलो गुठी) का गुठीयारहरूले चण्डेश्वरी शक्ति पीठमा विशेष पूजा गर्दछन् । बाह्र वटा बोका बली चढाई तान्त्रिक विधिबाट गरिने यो पूजा शक्ति साधनासँग सम्बन्धित मानिन्छ ।
स्थानीय विश्वासअनुसार यस पूजाबाट शक्ति उत्पन्न हुने र बनेपावासीले देवीको आशीर्वाद तथा शक्ति प्राप्त गर्ने मान्यता रहेको छ ।
æमत पूजाÆ ः जात्राको प्रमुख आकर्षण
चण्डीपूर्णिमाको बिहान मिरमिरे उज्यालोमै हजारौँ भक्तजन चिराग बालेर बाजागाजासहित बनेपा लायकूमा जम्मा हुन्छन् । त्यहाँबाट चण्डेश्वरी मन्दिर हुँदै रक्तचन्दन वनको फेदीमा रहेको जलेश्वर शिवलिङ्गतर्फ प्रस्थान गरिन्छ । यही धार्मिक यात्रालाई æमत पूजाÆ भनिन्छ ।
जलेश्वर शिवलिङ्गको पूजा गरी महादेवको साथ लिएर चण्डेश्वरीको पूजा गर्दा सर्वोत्तम फल प्राप्त हुने विश्वास रहेको छ ।
स्थानीय जनविश्वासअनुसार जलेश्वर नजिकको खोलामा स्नान गरी शिवलिङ्गको पूजा गर्दा बच्चा तुहिने समस्या नहुने मान्यता रहेकाले यस पूजामा महिलाहरूको सहभागिता पनि उल्लेखनीय हुने गर्दछ ।
खाली रथ बोकेर मन्दिर लैजाने परम्परा
चण्डीपूर्णिमाका दिन तीनधारामा बनाइएको खाली रथलाई ४०–५० जनाले बोकेर चण्डेश्वरी मन्दिर पु¥याउने परम्परा जात्राको अर्को आकर्षण हो । रथ उठाउनुअघि रथ बनाउने, बोक्ने र बाजागाजा बजाउने सबैलाई पान, सुपारी, नरिवल तथा टीका लगाएर सम्मान गरिन्छ ।
त्यसअघि कानफट्टा जोगीहरूले सेतो भेडाको बली दिएर तान्त्रिक पूजा गर्ने चलन पनि रहेको छ ।
शक्ति प्राप्तिको विश्वास
रातिको समयमा द्यःछेंबाट ल्याइएको मूर्तिलाई चण्डेश्वरी शक्ति पीठमा पूजा गरी रथमा प्रतिस्थापन गरिन्छ । यही समयमा देवीबाट शक्ति सृजना हुने विश्वासका कारण हजारौँ भक्तजन पूजा गर्न पुग्ने गर्दछन् ।
कतिपय भक्तजन सम्हय, ख्येसगं, पंचमकार तथा पशुबली चढाएर शक्ति प्राप्त हुने जनविश्वासमा पूजा गर्ने गर्दछन् ।
दैत्य लोहं पुगेर हुने विशेष स्वागत
चण्डीपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन रथयात्रा वकुटोलस्थित æदैत्य लोहंÆ अर्थात् दैत्य ढुंगा पुगेपछि विशेष स्वागत गरिन्छ । यही स्थानमा चण्डासुर दैत्यलाई चण्डेश्वरीले वध गरेको प्रतीकस्वरूप ढुंगा राखिएको विश्वास छ ।
त्यहाँ राजोपाध्याय, भोछिभोया खलकका कन्या कुमारी तथा विभिन्न गुठीका प्रतिनिधिहरूले देवीको स्वागत सत्कार गर्दछन् । त्यसपछि मात्र चण्डेश्वरीको घुम्टो उघारेर बजार परिक्रमा गराइन्छ ।
कलेदानसँगै जात्रा विसर्जन
रथयात्रा सम्पन्न भएपछि साँझ æकलेदानÆ वा æकलंदानÆ गरिन्छ । यस क्रममा बली चढाइएको बोकाको मासु, फलफूल, मिठाई, केराउ, बिस्कुट, रोटी लगायत सामग्री प्रसादका रूपमा भक्तजनलाई वितरण गरिन्छ ।
आकाशबाट फालिएको प्रसाद भुइँमा खस्नुअघि समात्न भक्तजनबीच होडबाजी चल्ने दृश्य अत्यन्त रमाइलो मानिन्छ । विशेषगरी बोकाको टाउकोको सिउ प्राप्त भए मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
अन्त्यमा चण्डेश्वरीको मूर्तिलाई पुजारीहरूले काँधमा बोकेर द्यःछेंमा भित्र्याउने तथा कन्याहरूले लसकुस गरेर सम्मानपूर्वक विसर्जन गर्ने परम्परासँग जात्रा सम्पन्न हुन्छ ।
जय चण्डेश्वरी माई Û
बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा र मत पूजाको विशेष महत्व
2026-05-01T07:01:40+05:45

तपाईको प्रतिक्रिया