
बनेपा/ बनेपा नगरपालिका भित्र सञ्चालित विभिन्न उद्योगहरूमा बालश्रमको अवस्था बुझ्न बृहत् अनुगमन गरिएको छ । बालअधिकार संरक्षण र बालश्रम उन्मूलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, सुरक्षा निकाय, बालअधिकार संरक्षण समिति, बाल क्लब, सञ्चारकर्मी तथा सरोकारवाला निकायको संयुक्त टोलीले पहिलो चरणमा वडा नं. १ र ४ अन्तर्गत रहेका इट्टा उद्योग, सिसा उद्योग, चप्पल कारखाना, बिस्कुट उद्योग, प्लास्टिक तथा ट्यांकी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनबारे जानकारी दिँदै नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले बालश्रममुक्त समाज निर्माणतर्फ नगरपालिकाले ठोस पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो, æबालबालिकालाई श्रममा लगाउनु कानुनविपरीत मात्र होइन, उनीहरूको भविष्यसँग खेलवाड पनि हो । त्यसैले उद्योगहरूलाई जिम्मेवार बनाउन र सचेतना फैलाउन यो अभियान अघि बढाइएको हो ।
उहाँका अनुसार अनुगमनका क्रममा बालश्रम नदेखिएका उद्योगहरूलाई æबालश्रममुक्त उद्योगÆ को पहिचान स्वरूप स्टिकर टाँस गरिएको छ भने बालश्रम भेटिएका उद्योगलाई तत्काल सचेत गराइएको छ । १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको पाइएमा अभिभावकको जिम्मामा घर फर्काउने र पुनः दोहोरिएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाकी कर्मचारी सपना ओलीले अनुगमनको उद्देश्यबारे प्रष्ट पार्दै नगरभित्र रहेका उद्योगहरूमा बालश्रमको यथार्थ अवस्था पहिचान गर्नु र सरोकारवालाबीच समन्वय सुदृढ गर्नु रहेको बताउनुभयो ।
æसबै निकायको उपस्थितिमा गरिएको यो अनुगमनले बालश्रम नियन्त्रणमा प्रभावकारी सन्देश दिएको छ,Æ उहाँले भन्नुभयो ।
अनुगमनको क्रममा वडा नं. १ मा रहेको इट्टा उद्योगमा बालश्रम प्रयोग नभएको पुष्टि भएपछि उक्त उद्योगलाई बालश्रममुक्त घोषणा गर्दै स्टिकर टाँस गरिएको छ । त्यसैगरी वडा नं. ४ मा रहेको वाइन उद्योगमा पनि बालश्रम नपाइएपछि सोही प्रक्रिया अपनाइएको छ ।
तर सोही वडामा सञ्चालित केही सिसा उद्योग तथा चप्पल कारखानामा भने बालश्रम प्रयोग भएको पाइएको छ । सम्बन्धित उद्योग सञ्चालकलाई तत्काल सचेत गराउँदै बालबालिकालाई अभिभावकको जिम्मामा पठाउने व्यवस्था मिलाइएको छ । सञ्चालकहरूले भविष्यमा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै बिस्कुट तथा स्टिल कारखानाहरूमा बालश्रम नदेखिएपछि ती उद्योगलाई समेत बालश्रममुक्त उद्योगका रूपमा मान्यता दिँदै स्टिकर टाँस गरिएको छ ।
उपप्रमुख दाहालले बालबालिकालाई श्रमबाट टाढा राखी शिक्षामा पहुँच सुनिश्चित गर्न नगरपालिकाले दीर्घकालीन योजना अघि बढाउने बताउनुभयो ।
æबालश्रम उन्मूलन केवल अनुगमनले मात्र सम्भव हुँदैन, यसका लागि परिवार, उद्योग र समाज सबैको सोच परिवर्तन आवश्यक छ,Æ उहाँले उल्लेख गर्नुभयो ।
अनुगमनमा वडा अध्यक्षहरू कमल घिमिरे, श्यामसुन्दर श्रेष्ठ, नगर प्रहरी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक, विभिन्न वडाका कर्मचारी, उद्योगी–व्यवसायी, नगर बाल सञ्जालका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहेको थियो।
नगरपालिकाले आगामी दिनमा बाँकी वडाहरूमा समेत अनुगमन विस्तार गर्दै बालश्रममुक्त बनेपा निर्माण अभियानलाई तीव्रता दिने जनाएको छ ।
उद्योगमा बालश्रम नियन्त्रणका लागि बनेपामा बृहत् अनुगमन — बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
2026-04-30T05:22:26+05:45

तपाईको प्रतिक्रिया