ए मान्छेहरू, मलाई माफ गर ।
अच्युत ढुंगाना
ए मान्छे !
तिमी फगत एक शरीर थिएनौ,
एक सपना थियौ,
एक आशा थियौ,
एक भविष्य थियौ,
केही वर्षपछिको नेपाल थियौ;
भनेर बुझाउने कसले ?
बुझाउने कसलाई ?
बुझिदिने कसले ?
तिम्रो रगतले आज के लेख्यो खै ?
क्रान्ति वा नयाँ इतिहास ।
मैले त कोतपर्व मात्र देखें।
अहो !
सत्ताको जगतमा जेन–जी को विद्रोह?
तिम्रो नाममा सदबिज छर्नेहरु प्रति पनि हार्दिक श्रद्धाञ्जली छ।
तिमीलाई त मुरीमुरी मायाँ ।
औधी धेरै प्रेम छ ।
मेरो लागि देउता मरेको धेरै भो !
अलिकति बचेको धर्मले विचार गर्छ –
पक्का ठूलो अपराध भयो।
न म कहलिएर रुन सक्छु,
न चिच्याएर कौलास्न ।
प्रिय मान्छेहरू,
माफ गर ।
मलाई मेरै कर्मले बोल्न दिएन ।
धित मारेर मन खोल्न दिएन ।
यो बोल्न दिएन की,
“ प्रिय जेन मान्छे, यहाँ महापाप भयो,
मलाई माफ गर,
तिम्रो व्यवस्था तिमीलाई नै अभिसाप भयो,
सत्ताको हिसाव पूरापूर राफसाफ भयो !“
इमान नबेचेको भएपनि हुत्तीहारा भएको छु ।
मान्छेहरू ,
ममा त्यत्रो तागत छैन अचेल,
त्यो हिम्मत,
त्यो तागत १२ वर्ष अघि
नै धितो राखेको छु,
त्यही धितोले
तिमीहरू जस्तो अर्को जेन अल्फा हुर्काउँदै छु !
मेरो हात कामयावी त छन्
तर आँत गलेको छ अचेल ।
आँखामा समुद्र बोकेको छु,
तर शरीर बलेको छ अचेल ।
मैले बुझिन आज ?
की झण्डाको रातो रङ्ग तिमीमा सर्यो;
वा,
तिम्रो रगतको रङ्ग झण्डामा सर्यो ?
कुन पापीले यो के गर्यो?
मलाई माफ गर;
सायद भगवानले पनि
आज आत्महत्या गर्यो ।
तपाईको प्रतिक्रिया