शतप्रतिशत नतिजापछि क्षितिजमा उत्सव, सफल विद्यार्थी सम्मानित

बनेपा । क्षितिज अंग्रेजी माध्यमिक विद्यालय ले एसईई परीक्षा २०८२ मा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

मंगलबार विद्यालयको सभाहलमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दै विद्यालय परिवारले खुसी साटेको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल लिलाधर पौडेल ले विद्यालयको ऐतिहासिक सफलतामा शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त मेहनत रहेको बताउनुभयो । उहाँले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीले निरन्तर उत्कृष्टता हासिल गर्दै आएको उल्लेख गर्नुभयो ।

विद्यालयका संस्थापक गोविन्दलाल प्रधानाङ्ग ले प्राप्त सफलता केवल अंकको उपलब्धि मात्र नभई वर्षौँको मेहनत, अनुशासन र समर्पणको परिणाम भएको धारणा राख्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास श्रेष्ठ ले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउन विद्यालय सधैँ प्रतिबद्ध रहने बताउनुभयो । “विद्यार्थीले राम्रोसँग अध्ययन गर्न र शिक्षक–शिक्षिकाले प्रभावकारी ढंगले अध्यापन गर्न सक्ने वातावरण निर्माणमा हामी कुनै कसर बाँकी राख्दैनौँ,” उहाँले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ ले सफल विद्यार्थीलाई आगामी यात्रामा पनि निरन्तर मेहनत गर्दै अघि बढ्न प्रेरणा दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक का कोषाध्यक्ष केशवराज पौडेल ले परीक्षा नतिजासँगै व्यवहारिक ज्ञान र सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यार्थी ईच्छा थामी ले आफ्नो तथा साथीहरूको सफलतापछि सामूहिक मेहनत, निरन्तर अभ्यास र शिक्षकको मार्गदर्शन मुख्य कारण रहेको अनुभव सुनाउनुभयो ।

विद्यालयले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेपछि अभिभावक तथा स्थानीय समुदायमा समेत उत्साह छाएको छ ।

तपाईको प्रतिक्रिया