धुलिखेल, जेठ १२ — जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कसुरमा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार चोरी प्रयास, मोबाइल चोरी तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धका घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले दिएको जानकारीअनुसार बनेपा नगरपालिका–८ स्थित मड्का पसलमा चोरी गर्ने क्रममा पनौती नगरपालिका–१ का २६ वर्षीय सुशिल सापकोटालाई नियन्त्रणमा लिइएको छ । उनलाई चोरी उद्योग मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बनेपा नगरपालिका–१२ बस्ने २६ वर्षीय जगदिश थापालाई मोबाइल चोरीको आरोपमा पक्राउ गरिएको छ । उनले बनेपा–७ स्थित एक मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोप लागेको छ। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसी क्षेत्रमा मोबाइल चोरीको उजुरीपछि खटिएको प्रहरी टोलीले रोशी गाउँपालिका–७ का २८ वर्षीय सुवास गौतमलाई पक्राउ गरेको छ। उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया