एक सय रुपैयाँबाट सुरु भएको सपना : बनेपाको समतामा फुल्दै हजारौँ भविष्य


बिहानको समय । काभ्रेपलाञ्चोकको बनेपास्थित समता शिक्षा निकेतन को प्राङ्गण बालबालिकाको चहलपहलले भरिएको छ । कसैले झोला मिलाइरहेका छन्, कोही साथीहरूसँग हाँस्दै कक्षातर्फ दौडिरहेका छन् । बाहिरबाट हेर्दा यो कुनै सामान्य निजी विद्यालयजस्तै देखिन्छ । तर, यो विद्यालयको भित्री कथा भने असाधारण छ ।

जहाँ धेरै निजी विद्यालयको शुल्कले अभिभावकको ढाड सेकिरहेको छ, त्यही समयमा “एक सय रुपैयाँमा शिक्षा” भन्ने अभियान बोकेर समता शिक्षा निकेतनले हजारौँ अभिभावकलाई राहतको अनुभूति दिलाएको छ ।

शिक्षा महँगिँदै जाँदा निम्न आय भएका परिवारका लागि गुणस्तरीय विद्यालय शिक्षा सपना जस्तै बन्दै गएको छ । धेरै अभिभावकले निजी विद्यालयको शुल्क तिर्न नसकेर आफ्ना बालबालिकालाई चाहेर पनि राम्रो विद्यालयमा पढाउन सकेका छैनन् । तर बनेपामा रहेको समता शिक्षा निकेतनले यही पीडालाई अवसरमा बदल्ने प्रयास गरिरहेको छ ।

हाल विद्यालयमा करिब ५५० जना विद्यार्थी अध्ययनरत छन् । न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने अवधारणाले विद्यालयलाई अभिभावकमाझ लोकप्रिय बनाएको छ । दैनिक ज्यालादारी, साना व्यवसाय, कृषि तथा श्रम पेशामा आबद्ध परिवारका बालबालिका यहाँ अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रिन्सिपल प्रितम गन्गाई का अनुसार विद्यालयले कम शुल्कमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “हामीले शिक्षा केवल व्यापार होइन, सामाजिक उत्तरदायित्व पनि हो भन्ने सोचलाई प्राथमिकता दिएका छौँ ।”

विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । अनुशासन, नैतिक शिक्षा र व्यवहारिक सिकाइलाई विशेष प्राथमिकता दिइएको छ । यही कारण विद्यालयका विद्यार्थीहरू पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय देखिन्छन् ।


यस वर्ष विद्यालयले एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । न्यून शुल्कमा सञ्चालन भइरहेको विद्यालयले उत्कृष्ट नतिजा ल्याएपछि अभिभावक र स्थानीय समुदायमा थप उत्साह बढेको छ ।

समताको यात्रा भने सजिलो थिएन । सीमित स्रोत, व्यवस्थापनको चुनौती र बढ्दो विद्यार्थी चापका बीच विद्यालय सञ्चालन गर्नु आफैँमा कठिन काम थियो । तर अभिभावकको विश्वास र समुदायको साथले विद्यालयलाई अगाडि बढाइरहेको छ ।

यही विश्वासका कारण यस वर्ष अभिभावकहरूको भेलाले विद्यालय व्यवस्थापनलाई मासिक शुल्क पाँच सय रुपैयाँ पुर्‍याउन आग्रह गर्‍यो । लामो समयसम्म एक सय रुपैयाँमै सञ्चालन गरिएको अभियानलाई टिकाइराख्न कठिन हुँदै गएपछि विद्यालयले यो वर्षदेखि मासिक पाँच सय रुपैयाँ शुल्क लिन थालेको छ ।

विद्यालय प्रशासनका अनुसार शुल्क वृद्धि भएपछि शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री, पूर्वाधार सुधार तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा केही सहज भएको छ । तर विद्यालयले आफ्नो मूल उद्देश्य भने नबदलिएको स्पष्ट पारेको छ—“आर्थिक अवस्था कमजोर भएकै कारण कुनै बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् ।”

समता शिक्षा निकेतन केवल विद्यालय मात्र होइन, धेरै परिवारका सपनाको आधार बनेको छ । यहाँ पढ्ने धेरै विद्यार्थीका अभिभावक भन्छन्—“हामीले नपाएको अवसर अब हाम्रा छोराछोरीले पाइरहेका छन् ।”

बनेपाबाट सुरु भएको यो अभियान अहिले देशभर चर्चाको विषय बनेको छ । शिक्षा सेवा हो, अवसर हो र समानताको आधार हो भन्ने सन्देश समताले व्यवहारमै देखाइरहेको छ ।

एक सय रुपैयाँबाट सुरु भएको यो सपना आज सयौँ बालबालिकाको भविष्य उज्यालो बनाउने अभियान बनेको छ

तपाईको प्रतिक्रिया