
बनेपा, जेठ २६ गते । बनेपा नगरपालिका को आयोजनामा तेस्रो उपमेयर कप महिला भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, न्यु डाइमण्ड क्लब, ललितपुर महानगरपालिका तथा संयुक्त टोली सहभागी छन् ।
प्रतियोगिता लिग चरणको आधारमा सञ्चालन हुने छ । सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बनेपा नगरपालिकाले धुलिखेल नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
प्रतियोगिताको उद्घाटन शान्तिरत्न शाक्य ले गर्नुभएको थियो । कार्यक्रममा बिमला सापकोटा ले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, खेलप्रेमी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगिताको संयोजन बिक्रम प्रजापती ले गर्नुभएको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सहआयोजनामा बनेपा भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।

तपाईको प्रतिक्रिया