
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा हरेक बर्ष रजस्वला नभएका दश बर्षमुनीका कन्याको पूजा गरिन्छ । यो १२३ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा एकैसाथ हजारौँ कन्या पूजा गर्ने परम्परा अनुसार अघिल्लो बर्ष नौ हजार कन्या पुजिएका थिए । यस पूजालाई सनातन कन्या पूजा सञ्चालक समितिले निरन्तरता दिइरहेको छ । सनातन कन्या पूजा प्रबन्ध समितिका सुरकृष्ण वैद्यले कन्या पुजाको विशिष्ट महत्व रहेको उल्लेख गरे ।
ंबुइँगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्तीभरि कन्यालाई राखेर पूजा गरिन थालिएको हो । काभ्रेपलाञ्चोक, भक्तपुर र सिन्धुपाल्चोकबाट अभिभावकसँग कन्या आउने गर्छन् । पूजाका लागि सुरुमा स्थानीय भद्रभलादमीको उपस्थितिमा ३१७ रुपियाँ ५० पैसा जगेडा कोष स्थापना गरिएको अभिलेख पाइन्छ ।
बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले यो प्रचलन सुरु गरेका हुन् । । ३१७ रुपियाँबाट सुरु भएको अक्षयकोषमा यतिबेला १९ लाख रुपियाँ मौज्दात छ । भोलाखा टोलबाट सुरु भएको कन्या पूजाको इतिहास अहिले बनेपाकै पुलबजार, नाला, बुडोलसँगै शारदा बतासे, पनौती र दाप्चासम्म पनि फैलिएको छ ।
अघिल्लो वर्ष पाँच स्थानबाट १५ हजारभन्दा धेरै कन्याको पूजा गरिएको आँकलन गरिएको थियो । त्यसमध्ये बनेपामा मात्रै नौ हजार कन्या पुजिएका थिए ।
शिशुको भु्रण पहिचान गरेर छोरी भए गर्भपतन गराउने संस्कार झाँगिदै गएको समयमा हजारौँ कन्यालाई प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपा सहरमा पूजा गरेर छोरीको महत्वलाई बढावा दिएको बनेपा नगरपालिका एमालेका अध्यक्ष नवराज मानन्धरले उल्लेख गरे ।
प्राचीनकालमा भुजुङ र प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपामा भोछिभोया खलकले अन्यन्तै दुःख पाएपछि दुःख हट्ने विश्वाससाथ प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमी र भाद्र कृष्ण सप्तमीका दिन १० वर्षमुनिका कन्यालाई पूजा गरिँदै आएको छ । त्यतिबेला सातगाउँ भनिएको बनेपाका भोछिभोया खलक चण्डेश्वरी देवीका सन्तति मानिन्छन् ।
चण्डेश्वरी पनि कन्या भएकाले यहाँ हुने जुनसुकै पूजामा पनि सबैभन्दा कम उमेरको कन्यालाई प्रसाद खुवाएर ठूलालाई खुवाउने प्रचलन छ । मान्यता अनुसार यस पूजामा संलग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटी निरोगी रहन्छन् ।
दक्षिणा, स्वारी, मालपुवा, सेल, हलुवा र मिठाइलगायत आफ्नो क्षमता अनुसारका सामग्री दिएर कन्या पूजा गरिन्छ । समितिका कोषाध्यक्ष दिनेश कायस्थले अक्षयकोषबाट आएको ब्याज खर्च गरिन्छ । हरेक बर्ष चार लाख रुपियाँभन्दा धेरै खर्च पनि हुने गरेको छ ।
हरेक बर्ष दुई सय दाताले स्वतःस्फूर्त रूपमा दक्षिणा, चक्लेट, कापी, कलम उपहार दिन खर्च गरेका छन् । रजस्वला नभएका १० वर्षमुनिका कन्या बनेपा सहरको दायाँबायाँ लस्करै बस्छन् । बाजागाजासहित पुरोहितको पूजासँगै अन्य स्थानीय व्यक्तिले साथ दिन्छन् । अन्धविश्वास त्याग्नुपर्छ, सत्यलाई खोज्नुपर्छ र समाजको कन्यामा आत्मविश्वास भर्नुपर्छ भन्ने उद्घोषसाथ बर्सेनि यो पूजा हुने गरेको मानन्धरले बताए ।
नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपाली विसं १९५९ देखि जुट्दै आएका छन् ः उही लगाव, उही तामझाम र उही रमझमसाथ । दुई वर्ष कोभिड–१९ को महामारीका कारण कन्या पूजा प्रभावित बनेपनि त्यसलाई निरन्तरता दिईएको छ ।
किंवदन्ती अनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सातगाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आइएको हो । कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

तपाईको प्रतिक्रिया