
बनेपा÷बनेपाका प्रतिष्ठित उद्योगी र व्यापारीको नेतृत्वमा रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा बनेपामा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ग्रुवेन तौजलेले अध्यक्षता गर्दै एक बर्षमा हासिल गरेको उपलब्धि सार्वजनिक गर्नुभयो । उहाँले सहकारीले सदस्यमुखी सेवा प्रदान गरेको बारेमा सभामा जानकारी दिनुभयो । सदस्यहरुलाई सहज सेवा उपलब्ध गराईरहेको बताए । ६ हजार ७ सय ७८ सदस्यहरु मध्ये ६ हजार ८ शेयर सदस्य, २९ संस्थागत र ९ सय ६४ बाल सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले सहकारीले सामाजिक उत्तरदायित्वमा खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
पछिल्लो समय नेपालमा भएका आन्दोलनले उद्योग व्यवसायमा पुगेको क्षति, सरकारको नीति र सहकारीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा आफ्नो धारणा राख्नुभयो ।
नेपाल पत्रकार महसंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले सहकारीहरुले संकटका समयमा पनि सदस्यहरुलाई बचत तथा ऋणको कारोबारमा सक्रिय भएकोमा सहकारीको प्रशंसा गर्नुभयो । संस्थाका उपाध्यक्ष प्रकाश कायस्थ, निवर्तमान अध्यक्ष दिनेशराज कायस्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रञ्जित, लेखा सुपरिवेक्षण समिति संयोजक विकास बैद्य,संचालक समिति, लेखा समिति तथा विभिन्न उप समितिका पदाधिकारीहरु, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाको पनौतीमा रहेको सेवा केन्द्रमा लक्ष्मीकृष्ण ताम्राकार संयोजक रहेका छन् भने भकुण्डेमा रहेको सेवा केन्द्रमा रामहरी आचार्य संयोजक छन् ।
प्रमुख प्रवन्धक सुबास बैद्यका अनुसार आर्थिक वर्ष २०८१÷२०८२ मा उत्कृष्ट हुने शेयर सदस्य, ऋणी, बचतकर्ताहरु, शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एसईई उर्तिण छात्र र छात्रालाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारीका रुपमा प्रशासन विभाग अधिकृत श्रीकृष्ण सुवाल सम्मानित हुनुभयो ।
सचिव धर्मभक्त प्रधानले संस्थाका कार्ययोजना सार्वजनिक गर्नुभयो । संस्थाले विगतका बर्षहरुमा जस्तै नयाँ वर्षका दिन र संस्थाको स्थापनाका दिन शीर मेमोरियल अस्पतालमा जन्मने छोरीलाई नगद पुरस्कार दिने, मुटु लगायतका विभिन्न रोगसँग सम्वन्धित रहेर स्वास्थ्य शिविरहरु संचालन गर्ने, सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण गर्ने तथा शैक्षिक सामाग्री उपलब्ध गराउने, जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने, वृक्षारोपण गर्ने लगायतका कार्यक्रम सार्वजनिक गर्नुभयो ।
कोषाध्यक्ष सुर्यकुमार रञ्जितले ९३ करोड ९ लाख ४८ हजारको कुल सम्पत्ति रहेको आय ब्यय प्रस्तुत गर्नुभयो । यो आर्थिक वर्षमा संस्थाले सबै खर्च कटाएर ६७ लाख ८ हजार मुनाफा गरेको छ भने आन्तरिक राजश्व कार्यालय, नगरपालिका लगायतका निकायमा ६७ लाख नै कर बुझाएको छ । जगेडा कोषमा २ करोड ९४ लाख, स्थिर सम्पत्ति १२ लाख ६ हजार, ऋण लगानी ६६ करोड ५७ लाख, बचत ८२ करोड ७६ लाख, शेयर पुँजी ३ करोड ७६ लाख रहेको छ । त्यस्तै जोखिम ब्यहोर्ने कोषमा ३ करोड ५० लाख रहेको छ ।
बनेपा हेल्थ केयरको स्वास्थ्य शिविर
साधारण सभामा संस्थासँगको समन्वयमा बनेपा हेल्थ केयरले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । हेल्थ केयर र आभाष साकोसबीच सदस्यलाई औषधि तथा चेकजाँचमा विशेष छुटको व्यवस्था गरेको छ । सयौको संख्यामा सदस्यले सेवा लिएका थिए । बनेपा हेल्थ केयरले हरेक दिन निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया