हरितालिका तिजमा बढ्दो विकृति

–राजेशमणि लामिछाने

अन्य सांस्कृतिक चाडपर्व जस्तै वैदिक र पौराणिक प्रसंगसँग सम्बन्धित रहेर भाद्र शुक्ल तृतीया, गणेश चतुर्थी र ऋषिपञ्चमीसमेतका दिनहरूको समयोग नै समग्रमा तिज हो । शिवपुराणबमोजिम शक्ति, प्रेम र भक्तिकी देवी, हिमालयपुत्री, पार्वतीको प्रसंगसँग जोडिने हरितालिका तिजलाई नेपालमा एक विशेष पर्व मानिन्छ । जसअनुसार गिरीराज, हिमालयकी सुपुत्री, कुमारी पार्वतीले आध्यशक्ति, शिवशंकर भगवान् पति पाउन गरेका हरसम्भव प्रयास असफल भएपश्चात् भगवान विष्णु (हरि)को मार्गनिर्देशनअनुसार विधि, प्रक्रिया र शास्त्रबमोजिम तालिका बनाएरै कठोर तपस्या गर्दैगर्दा भाद्र शुक्ल तृतीयाका दिन भक्तको इच्छानुसार शिव पति प्राप्त भएको तथ्य/किंवदन्ती शिवपुराणमा पाइन्छ ।

यसै तथ्यलाई आधार मानेर, हरिको तालिकाबमोजिम लक्ष्य भेदन भएको दिनका रूपमा यस चाडको नाम हरितालिका तिज रहन गएको मानिन्छ । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तिज मनाउँछन् भने गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तिजकै प्रमुख र महत्त्वपूर्ण अंग हुन् । एक फरक पौराणिक प्रसंगमा भाद्र शुक्ल तृतीयाको दिन देवी, पार्वतीलाई भगवान् विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका संगीहरूले हरण गरेर लुकाएका कारणसमेत यस दिनलाई हरितालिका भनिएको हो भन्ने ठानिन्छ ।

मौलिक चिन्तन र सिर्जनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकल केही सीमित ग्रामीण समाजमा बाहेक अन्यत्र नामेट हुँदै गएको छ। अचेल मौखिक, मौलिक गीतको सट्टा आधुनिक म्युजिक प्लेयरबाट नै गीत बजाई उन्मक्त नाच्ने प्रचलन हाबी हुँदै गएको छ। अहिले रचनात्मक क्षमता तथा पुरानो मौलिक गीतका लय, छन्द, टुक्कासमेत लोप हुने अवस्थामा छन्।

श्रीमद्भागवत महापुराणको एक प्रसंगअनुसार भाद्र कृष्ण अष्टमीको दिन जन्मेका भगवान्  श्रीकृष्ण जन्मेको ११औं दिन भाद्र शुक्ल तृतीया पर्ने भएकाले, अर्थात् न्वारनको दिन गोकुलका गोपी, गोपिनीहरूले बाजागाजाका साथ हर्षोल्लासपूर्ण तरिकाले, नाचगान गरी, खुसीयाली मनाएकाले सोही रसरंगको नियमितताको रूपमा तिजमा महिलाहरूले नाचगान गर्ने गरेको विश्वास गरिन्छ । अविवाहित नारीहरूले शिवजी जस्तै बलिष्ठ र सुयोग्य वर प्राप्तगर्ने आकांक्षाका साथ भगवान् शिवजीको अनुष्ठान, पूजा, व्रत, आराधना गर्दछन् भने विवाहित महिलाले पारिवारिक सुख, शान्ति, समृद्धि तथा सफल दाम्पत्य जीवनको लागि सोही कार्य गर्ने गर्छन् ।

हिन्दु धर्म, पूर्वीय संस्कृति, परम्परा र मान्यतानुसार सृष्टि र समाज अनवरत र अकन्टक चलिरहनको लागि महिलाहरू विवाहपश्चात् आफ्नो  श्रीमान्को साथमा, उनैको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने विश्वव्यापी प्रचलन छ । यसरी विवाह गरेर पतिका घर पठाइएका छोरीचेली यस चाड र पर्व पारेर ससम्मान माइतीघर निम्त्याइने चलन छ । भाद्र शुक्ल तृतीया तिथिको दिनमा समस्त महिलाहरू दिनभर निराहारमात्रै होइन निर्जला व्रत बस्ने भएकाले, द्वितीया तिथिको राति दरको रूपमा दूधपाक र घिउपाकलगायतको पौष्टिक र दह्रिलो खानाखाने चलन छ ।

महिलाहरूले दरखाने दिनको भोलिपल्ट जलाशयमा स्नान गरी, पवित्र भई शुद्ध मनले निराहार र निर्जला व्रत बस्छन् । यस प्रकार पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिवजी प्रसन्न हुने र परिवारमा खुसी र सुख, समृद्धि छाउने जनविश्वास छ । सोही दिन विवाहित, अविवाहित तथा कन्याहरूसमेत समस्त महिलाहरू राता लुगा र गहनामा झपक्क सजिएर नजिकको शिवमन्दिर अथवा पायकको उपयुक्त स्थानमा भेला भएर नाचगान गरेका महिला, साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएपछि बल्ल फलाहार गर्छन् । काठमाडौंमा पशुपतिनाथको मन्दिरमा अत्यन्तै भव्य मेला, पूजाअर्चना र नाचगान हुने गर्छ ।तिजका दिनको भोलिपल्ट भाद्र शुक्ल चतुर्थी, गणेश चौथी पर्ने भएकाले विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र, भगवान् गणेशको पूजाअर्चना र आराधना गरी मनाउने गर्छन् । तिजको दिनमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा जस्तै सोही दिन नेपालका कार्यविनायक, सूर्यविनायक, कमलविनायकलगायतका सम्पूर्ण गणेशका मन्दिरहरूमा भगवान्को पूजाआराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ, स्कन्द पुराणअनुसार यस दिनलाई पवित्र, भगवान् गणेशको जन्मदिन मानिन्छ । हिन्दु धर्मावलम्बीहरूले सोहीदिन आफ्नो जीवनमा कुनै बिघ्न नआओस् र आफूले आँटेको कार्य सिद्ध होस् भनी बिघ्नहर्ता, सिद्धिविनायक,   श्रीगणेशको पूजाआराधना गर्ने गर्छन् ।

तिजका दिनको पर्सिपल्ट अर्थात् भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । यसै ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा जानअञ्जानमा भएका ज्ञानअज्ञात त्रुटिहरू नष्ट हुन्छन्, भन्ने शास्त्रीय मान्यता छ । सो दिन महिलाहरू सम्भव भएसम्मको समुद्र, गंगा, नदी, ताल, पोखरी, कुवा, धारा वा घरैमा शरीरमा गाईको गोबर र माटो लगाएर ३ सय ६५ पटक स्नान गरी, ३ सय ६५ दत्तिवनले दन्तमञ्जन गर्दछन् ।

गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने प्रचलन छ । नुहाइसकेर पवित्र भएका महिलाहरू ऋषिपूजाका लागि योग्य मानिन्छन् । ऋषिपञ्चमीको दिन ऋषिपूजापश्चात् परिवारका पुरुष सदस्यहरू पतिदेवको, पिताजीको वा दाजुभाइको हातबाट बनाएको मिष्ठान्न भोजन ग्रहण गरिसकेपछिबाट तिजको आधिकारिक कार्यक्रमको समापन भएको मानिन्छ ।

हरितालिका तिज पर्वका तमाम सकारात्मकताका बाबजुद महिलावादी, महिला अधिकारकर्मी तथा लैंगिक विश्लेषकहरू हिजोआजको तिज र ऋषिपञ्चमी चाडले हाम्रो समाजको विकृति, पितृसत्तालाई नै जोगाइराखेको मात्र होइन सोको पक्षपोषण गरेको आभास हुने बताउँछन् । उनीहरू तिजले आजको महिला पुस्तालाई उपभोक्तावादी बनाएको छ, पहिलापहिला तिजलाई सामन्तवादी संस्कृतिले निर्देशित गर्दथ्यो भने अहिले आएर यसमा पुँजीवादका असंगत विकृति थपिएका छन् । तिजसम्बन्धी धार्मिक विश्वासले महिलालाई कमजोर बनाएको महिला अधिकारकर्मीहरूको धारणा रहने गर्दछ । संसारभरिको जानसांख्यिक तथ्यांक हेर्ने हो भने पुरुषको भन्दा महिलाको औसत आयु बढी रहेको प्रमाणित तथ्य हो ।

२०२५ को प्रक्षेपित तथ्यांकमा पुरुष र महिलाको औसत आयु क्रमशः ७३.६ वर्ष र ७९.१ वर्ष रहको छ र यसैको आधारमा महिलाले व्रत बस्दैमा पुरुषको आयु थपिने विश्वास नभै अन्धविश्वास हो, भन्नेहरूको विचारमा बल पुग्दछ । चार जात र छत्तिस वर्णको साझा फूलबारी, नेपालमा थुप्रै जातजाति, समुदाय र सभ्यताका मानिस बस्ने र सबैको परम्परामा हरितालिका तिजलाई न चाड मानिन्छ न पर्व, यसै परिपेक्ष्यमा तिज पर्वलाई महिलाहरूको अपवित्रता पखाल्ने पर्वका रूपमा मनाइनुले यस पर्वले महिला प्रति गलत पितृसत्तात्मक सोच राखेको प्रमाणित हुन सक्छ । खुसीयालीमा रमाउने र सुखदुःख साट्ने वैदिक र पौराणिक प्रसंगबाट सुरु भएको तिज पर्वको नाचगानमा विस्तारै महिलाहरूले आफ्नो भावना, मानवीय÷नारी संवेदना, नारीले भोग्नुपरेका गरिबी, दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचार, सामाजिक र राजनीतिक कुरीतिजस्ता विषयमा समेत मौलिक गीतहरू रच्न, सो गीत गाउन र नाच्नसमेत सुरु गरे ।

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तिज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्रमात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का आफ्ना निकटस्थ अन्य समक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै छ । बसाइसराइ गरी विदेशमा बस्ने समस्त हिन्दु समुदाय खासगरी बिदेसिएका नेपाली समाजमा वा विदेशभित्रको नेपालका ससाना बालिकालाई पिरियड बार्नुपर्ने बिषयमा कन्भिन्स गर्न र व्यस्तताका बीच सम्भव नभएकाले विषय सही वा गलत जेहोला तर पनि, शास्त्रानुसार यो चाडको महत्त्वलाई नजरअन्दाज गर्न सकिन्न ।

तिजमा मीठामीठा परिकार आफैंले पकाएर, आफन्तहरूलाई बोलाएर आफ्नै हातबाट खाना तयार गर्ने, खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तिज अगाडि रहेको छ । विवाह भएर टाढा पुगेका छोरीचेली एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट परिकार, दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का एकापसमा सेयर गर्ने अवसर तिजले नै जुटाउँछ । यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एकअर्काका पूरक भएको प्रमाणित गर्ने अवसर पनि यो पर्वले दिन्छ ।

यसभन्दा पर गएर नन्दआमाजू, फुपूदिदी र हजुरदिदीहरूलाई, सानीमा, ठूलीआमा एवं वरपरसम्मका इष्टमित्र र आफन्तहरूलाई बोलाएर उदारभावका साथ खानपान तथा नाचगानसमेतको रमाइलोले भेटघाट भए जति सबैको मन प्रसन्न भै, आत्मीयपनको विकास हुने भएकाले हरितालिका तिजलाई एक महत्त्वपूर्ण चाड मान्न सकिन्छ । आफ्नो जन्मघर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तिज पर्वको गहन महत्त्व रहेको छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तिज पर्वको समयमा घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कने, उनीहरूले गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटेर एकापसका सुखदुःख र भावनाहरू सेयर गर्ने भएकाले यस पर्वले महिलालाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यी र यस्ता विषयहरू तिज पर्वका सकारात्मक पक्ष हुन् ।
मौलिक चिन्तन र सिर्जनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकल केही सीमित ग्रामीण समाजमा बाहेक अन्यत्र नामेट हुँदै गएको छ । अचेल

मौखिक, मौलिक गीतको सट्टा आधुनिक म्युजिक प्लेयरबाट नै गीत बजाई उन्मक्त नाच्ने प्रचलन हाबी हुँदै गएको छ । यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक गीतका लय, छन्द, टुक्कासमेत लोप हुने अवस्थामा छन् । हिजोआज उच्छृंखल र भडकला गीत गाउने, सोह्रशृंगारको नाममा गहनाको प्रदर्शन गरी समाजमा धनी र प्रतिष्ठित बन्न खोज्ने, नाचगानको बहानामा प्रशस्तै अंगप्रदर्शन गर्ने जस्ता विकृतिहरू तिजको समयमा व्यापक भएको हामीले महसुस गर्न सक्छौं ।वैदिक र पौराणिक प्रसंगको आधारमा वस्तुनिष्ट तथ्यमा टेकेर मनाउँदै आइएको धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएको महिलामात्रको यस महान् चाड र पर्वलाई परम्परागत रूपमा मौलिक रूपले मनाउन सकिएमा हामी धन्य हुनेछौं ।

माथि उल्लेख गरिएझैं महिनौ भडकलो दर, परम्परागत दरको अवमूल्यन गरेर दरको नाममा धूमपान, मद्यपान, लागुपदार्थको प्रयोग र विकृत तथा उच्छृंखल संगीतले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई तिलाञ्जली दिँदै र समाजलाई दूषित बनाउँदै अगाडि बढ्ने हुनाले यस्ता विकृतिलाई न्यूनीकरण गरी हाम्रा रीतिरिवाज, धर्म, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ र समृद्ध तुल्याउनु सक्नुपर्दछ । यस्ता चाडपर्वहरूको वैदिक, पौराणिक, धार्मिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक रहस्य सबैले मनन् गरेर सभ्य तथा समुचित ढंगले स्वदेशमा मात्र नभै विदेशमा समेत हाम्रो परम्परागत संस्कार अगाडि बढाउँदै यिनको पालना गर्नु हामी सबै हिन्दु धर्मावलम्बीको कर्तव्य हो ।

राजेशमणि लामिछाने,संयुक्त अधिराज्य बेलायतमा कार्यरत समाजशास्त्री हुन् । 

अन्नपूण पोष्ट अनलाईनबाट – सांभर

तपाईको प्रतिक्रिया