
दुर्लभ मानिने कालो चितुवा अर्थात् ब्ल्याक प्यान्थर मृत फेला परेको खबर पलाञ्चोक क्षेत्रमा हावासरी फैलियो। सामाजिक सञ्जालमा उसका तस्बिरहरू भाइरल भए। वन्यजन्तु संरक्षणका पक्षधरहरूले चिन्ता व्यक्त गरे भने स्थानीय बासिन्दाले वनको रक्षक गुमाएको भन्दै दुःख व्यक्त गरे।
कालो रङका कारण अझ दुर्लभ मानिने चितुवाको मृत्युको खबरले संरक्षणकर्मी, स्थानीय र सरकारी निकाय सबैको ध्यान तानेको थियो। खबर पाएपछि डिभिजन वन कार्यालय काभ्रे, सव–डिभिजन वन कार्यालय र प्रहरीसम्म सूचना पुग्यो। तर घटनाको केही दिनपछि भने अर्को प्रश्न उठ्यो– मृत भेटिएको चितुवा कहाँ गयो ?
जवाफ कसैसँग छैन।
डिभिजन वन कार्यालय काभ्रेका डिभिजनल वन अधिकृत कृष्णबहादुर थापाले प्रारम्भमा कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको र पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र मृत्युको कारण भन्न सकिने बताउनुभयो। तर पछि चितुवा घटनास्थलबाटै हराएको जानकारी गराउँदा उहाँ आफैँ अचम्मित हुनुभयो।
केही समयपछि पुनः सम्पर्क गर्दा उहाँले घटनास्थलबाट चितुवाको ¥याल संकलन गरिएको जानकारी दिँदै मृत शरीर भने फेला नपरेको बताउनुभयो। उहाँका अनुसार चितुवालाई आफूभन्दा ठूलो जनावरले तानेर लगेको हुन सक्छ। अर्को सम्भावना अन्धविश्वास वा अन्य स्वार्थका कारण मानिसले लगेको हुन सक्ने पनि उहाँको अनुमान छ।
तर प्रश्न यतिमै टुंगिँदैन। मृत अवस्थामा भेटिएको यति महत्वपूर्ण वन्यजन्तुको संरक्षण र अनुसन्धानमा जिम्मेवार निकाय किन प्रभावकारी हुन सकेनन् ? घटनास्थलको सुरक्षा किन गरिएन ? दुर्लभ वन्यजन्तुको शव नै हराउँदासमेत सरकारी संयन्त्र बेखबर किन रह्यो ?
स्थानीय बासिन्दाको गुनासो पनि यस्तै छ। उनीहरूका अनुसार वन कार्यालयसँग प्रत्यक्ष सम्पर्क गर्न धेरै मानिस हिच्किचाउँछन्। “वन कार्यालय भनेपछि झन्झट र दुःख दिने ठाउँ भन्ने धारणा छ,” एक स्थानीयले भने, “त्यसैले धेरैजसोले सामाजिक सञ्जालमा पोस्ट गर्छन्, तर सम्बन्धित निकायलाई जानकारी दिँदैनन्।”
यो घटनाले सरकारी निकाय र समुदायबीचको दूरी पनि उजागर गरेको छ।
अझ चिन्ताको विषय के छ भने दुई वर्षअघि पनि यही क्षेत्रमा यस्तै रङको अर्को कालो चितुवा मृत फेला परेको थियो। दुर्लभ प्रजातिका चितुवाहरू लगातार मृत अवस्थामा भेटिनु संयोग मात्र हो कि संरक्षण व्यवस्थामा देखिएको कमजोरी ? यसको उत्तर खोज्न आवश्यक देखिन्छ।
नेपालमा कालो चितुवा अत्यन्तै दुर्लभ मानिन्छ। यो छुट्टै प्रजाति नभई मेलानिज्मका कारण शरीरमा कालो रङ बढी देखिने चितुवा हो। यस्ता चितुवाको उपस्थितिले कुनै वन क्षेत्रको जैविक विविधता र पर्यावरणीय सन्तुलनको संकेत दिन्छ। त्यसैले यिनको संरक्षण केवल एउटा जनावरको संरक्षण मात्र होइन, सम्पूर्ण वन पारिस्थितिक प्रणालीको संरक्षणसँग जोडिएको विषय हो।
पलाञ्चोक क्षेत्रमा मृत भेटिएको कालो चितुवाको शव हराएको घटनाले धेरै प्रश्न जन्माएको छ। मृत्युको वास्तविक कारण के थियो ? शव कसले वा के ले लग्यो ? अनुसन्धान किन प्रभावकारी हुन सकेन ? र दुर्लभ वन्यजन्तुको संरक्षणमा राज्यको जिम्मेवारी कहाँ कमजोर बन्यो ?
यी प्रश्नहरूको उत्तर अझै खोजिन बाँकी छ। तर एउटा कुरा स्पष्ट छ— वनको मौन रक्षक मानिने दुर्लभ कालो चितुवाको मृत्युले संरक्षण प्रणालीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

तपाईको प्रतिक्रिया