
काभ्रेको खानीखोला गाउँपालिकामा सञ्चालित एक महिने थाङ्का लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग वाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा खानीखोला गाउँपालिकाको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा खानीखोलाका उच्च शिक्षा अध्ययन गरिरहेका १८ जना स्थानीय युवाहरूको सहभागिता रहेको थियो। तालिम समापनपछि प्रतिक्रिया दिँदै गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सहभागी युवाहरू अब स्वरोजगार बन्ने विश्वास व्यक्त गरे। एक महिनासम्म चलेको यस उद्यमशीलता केन्द्रित तालिममा सहभागीहरूले थाङ्का कला सम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरेको अध्यक्ष थिङले जानकारी दिए।

तालिम समापन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य कार्यालय धुलिखेलका प्रमुख रविन घिमिरेले युवाहरूलाई यो सीप आफ्नो रोजगार र आयआर्जनको क्षेत्रमा जोड्न आग्रह गरे। थाङ्का लेखनको आधारभूत सीप सिकेसँगै अब युवाहरू आफ्नै घरमै बसेर व्यावसायिक रूपमा काम गर्न र आर्थिक रूपमा सबल बन्न सक्ने प्रमुख घिमिरेको भनाइ थियो। उनले आगामी वर्ष उद्योग वाणिज्य कार्यालयले थप एड्भान्स (उच्च तहको) तालिमको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
तालिमका मुख्य प्रशिक्षक विजय लामाले थाङ्का विशेष गरी विदेशमा निर्यात हुने र यसको बिक्रीबाट विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना औँल्याए। काभ्रे र रामेछाप लगायतका जिल्लाहरूमा यसको राम्रो प्रवर्द्धन भइरहेको बताउँदै उनले थपे, “एक महिनाको तालिम आधारभूत कुरा सिक्नका लागि मात्रै हो, यसलाई निरन्तरता दिएर पूर्ण रूपमा निपुण हुन कम्तीमा ६ महिनासम्म लाग्छ।”
तालिममा सहभागी सोनी लामाले यो तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न सक्षम बनाएको र थप उर्जा मिलेको बताइन्। “थप एड्भान्स तालिम पाउन सकियो भने अब नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आँट आएको छ,” उनले भनिन्।
स्थानीयस्तरमै उपलब्ध युवा जनशक्तिलाई परम्परागत कला संस्कृतिसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको यस तालिमले ग्रामीण क्षेत्रका युवाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न ठूलो टेवा पुर्याउने अपेक्षा गाउँपालिकाले लिएको छ।
थाङ्का कलाको महत्त्व:
पर्यटन मन्त्रालयका अनुसार थाङ्का लेखन सामान्य चित्रकला मात्र नभएर एक गहिरो आध्यात्मिक साधना र समर्पणको प्रतीक हो। शताब्दीयौँदेखि चलिआएको तिब्बती बौद्ध परम्परामा आधारित रहेर तयार पारिने यी कलाकृतिहरू विशेष सीप र अथाह धैर्यताका प्रतीक मानिन्छन्।

तपाईको प्रतिक्रिया