
बनेपा/समता शिक्षा निकेतन, काभ्रेमा शैक्षिक सत्र २०८३ का लागि १६७ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। विद्यालयले नयाँ शैक्षिक यात्राको सुरुवातसँगै नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम आयोजना गरेको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल प्रितम गन्गाई का अनुसार विद्यालयले कम शुल्कमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको छ । उहाँ भन्नुहुन्छ, æहामीले शिक्षा केवल व्यापार होइन, सामाजिक उत्तरदायित्व पनि हो भन्ने सोचलाई प्राथमिकता दिएका छौँ ।Æ यो बर्ष थप १६७ जना अभिभावकले लिनु भएको विश्वासलाई पुरा गर्नेछौ उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा, अनुशासन तथा नैतिक मूल्यको विकासमा विद्यालय प्रतिबद्ध रहेको बताएको थियो । विद्यालय परिसरमा उत्साहपूर्ण वातावरणबीच विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समता शिक्षा निकेतन काभ्रेले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । गैरनाफामूलक उद्देश्यका साथ स्थापित यस संस्थाको स्थापना शिक्षासेवी उत्तम सञ्जेलले गर्नुभएको हो । आर्थिक रूपमा विपन्न तथा अवसरबाट वञ्चित बालबालिकालाई सहज पहुँचमा शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालय सञ्चालन हुँदै आएको छ ।

बनेपा–५, काभ्रेपलाञ्चोकमा रहेको विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर शिक्षण–सिकाइ गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालय प्रशासनका अनुसार नयाँ विद्यार्थीहरूको आगमनसँगै शैक्षिक सत्र २०८३ थप उत्साहपूर्ण बन्ने विश्वास लिइएको छ । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त तथा सहपाठ्यक्रम गतिविधि पनि सञ्चालन गर्ने जनाएको छ । समता शिक्षा निकेतन काभ्रेले æसबैका लागि गुणस्तरीय शिक्षाÆ भन्ने लक्ष्यका साथ आगामी दिनमा पनि शैक्षिक सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया