मनसुनको त्रासदेखि पूर्वसूचनासम्म : रोसी खोला अब डिजिटल निगरानीमा

काभ्रेपलाञ्चोकका पहाडमा पानी पर्दा धेरै मानिसको ध्यान आकाशतिर जान्छ । तर केही वर्षयता जिल्लावासीको डर बादलभन्दा बढी खोलातिर केन्द्रित हुन थालेको छ । विशेष गरी रोसी खोला आसपास बस्ने नागरिकका लागि मनसुन अब केवल वर्षा ऋतु होइन, सम्भावित विपत्तिको संकेत पनि हो ।

गत वर्षको मनसुनमा रातारात बढेको पानीले बस्ती त्रसित बने । कतै खेत बगाए, कतै सडक काटे, कतै पुलमाथिसम्म पानी उक्लियो । विशेष गरी बीपी राजमार्ग आसपासका क्षेत्र बाढी र पहिरोको दोहोरो जोखिममा परे । त्यसपछि सरकारी निकायहरू अब ‘पूर्वसूचना’ लाई केन्द्रमा राखेर काम गर्न थालेका छन् ।

यही जोखिम कम गर्न अब काभ्रेपलाञ्चोकका नदी तटीय क्षेत्रमा थप मौसम मापन केन्द्र र बाढी मापन केन्द्र स्थापना गरिने भएको छ ।

अब बाढी आउनुअघि बज्नेछ चेतावनी

जल तथा मौसम विज्ञान विभागले जिल्लाका विभिन्न स्थानमा तीन वटा नयाँ बाढी मापन केन्द्र र एउटा मौसम मापन केन्द्र थप गर्ने तयारी अघि बढाएको छ ।

विभागका मौसमविद् विनोद पराजुलीका अनुसार अहिले नै जिल्लाका सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण सञ्चालनमा छन् ।

धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ । यस्तै दोलालघाट र पचुवारघाटस्थित सुनकोशी नदी तथा पनौती बजार आसपास बाढी मापन प्रणाली सञ्चालनमा छ ।

तर यी संरचना पर्याप्त नभएको निष्कर्षपछि नयाँ उपकरण थप्ने योजना अघि बढाइएको हो ।

अब फलामेसाँघुमा नयाँ मौसम मापन केन्द्र स्थापना गरिनेछ । त्यस्तै खोपासीभन्दा केही तल, रोसीखोला पुल क्षेत्र र नेपालथोक नजिकैका क्षेत्रमा नयाँ बाढी मापन उपकरण राख्ने तयारी भइरहेको छ ।

“दक्षिणी भेग अझै निगरानी बाहिर थियो”

मौसमविद् पराजुलीका अनुसार अहिले सञ्चालनमा रहेका उपकरणले जिल्लाको सम्पूर्ण जोखिम क्षेत्र समेट्न सकेका छैनन् ।

रोसीखोलामा आउने बाढी केवल एउटा खोलाको पानी मात्र होइन । बीचबीचमा मिसिने साना खोल्सा, पहाडी भेल र आकस्मिक वर्षाले पानीको बहाव अचानक खतरनाक बन्न सक्छ ।

“जिल्लाको दक्षिणी भेगको मौसम र बाढीको अवस्था पूर्ण रूपमा मापन गर्न सकिएको छैन,” मौसमविद् पराजुली भन्नुहुन्छ, “रोसीखोलामा मिसिने अन्य खोलाखोल्सीको प्रभाव बुझ्न थप उपकरण आवश्यक परेको हो ।”

विशेषज्ञहरूका अनुसार रोसी क्षेत्रमा ‘फ्लस फ्लड’ अर्थात् आकस्मिक बाढीको जोखिम उच्च छ । माथिल्लो क्षेत्रमा ठूलो वर्षा भएपछि केही मिनेट वा घण्टामै तलका बस्ती प्रभावित हुन सक्छन् ।

यस्तो अवस्थामा समयमै सूचना पुग्नु नै सबैभन्दा ठूलो सुरक्षा हुन सक्छ ।

पनौतीमा परीक्षण हुँदै ‘फ्लड लाइट’

गोरखनाथ मन्दिर नजिक अहिले एउटा फरक किसिमको बत्ती जडान गरिएको छ । सामान्य सडकबत्ती जस्तो देखिने यो प्रणाली वास्तवमा बाढीको चेतावनी दिने ‘फ्लड लाइट’ हो ।

यो प्रणालीले नदीको पानी खतराको तह पार गरेपछि स्वचालित रूपमा बत्ती बाल्छ ।

पहेँलो बत्ती बल्दा सतर्क रहनुपर्ने संकेत मिल्छ भने रातो बत्ती बल्दा तत्काल जोखिमको अवस्था भएको जनाउ दिन्छ ।

रातको समयमा समेत टाढाबाट देख्न सकिने भएकाले स्थानीय नागरिकले घरमै बसेर जोखिमको अवस्था बुझ्न सक्ने अपेक्षा गरिएको छ ।

“एसएमएस हेर्न नपाउने अवस्था आउन सक्छ,” मौसमविद् पराजुली भन्नुहुन्छ, “तर बत्ती बल्दा मानिसले तुरुन्तै खतरा महसुस गर्न सक्छन् ।”

मोबाइलमा सन्देश होइन, सीधा फोन

यसपटक विभागले अर्को नयाँ तयारी पनि थालेको छ — अडियो सन्देशमार्फत पूर्वसूचना ।

मनसुन सुरु हुनुअघि जिल्लाका जनप्रतिनिधि, शिक्षक, रेडक्रसकर्मी, विपद् व्यवस्थापनमा काम गर्ने व्यक्ति तथा समुदायमा सूचना फैलाउन सक्ने व्यक्तिलाई विशेष प्रणालीमा जोड्ने योजना बनाइएको छ ।

‘इन्ट्र्याक्टिभ भ्वाइस रेस्पोन्स’ (आईभीआर) प्रणालीमार्फत उनीहरूको मोबाइलमा सिधै फोन जानेछ । फोन उठाएपछि करिब एक मिनेटको चेतनामूलक सन्देश सुन्न सकिनेछ ।

यो प्रणाली किन महत्त्वपूर्ण छ ?

किनभने आकस्मिक बाढीको समयमा धेरै मानिसले मोबाइलमा आएको एसएमएस हेर्दैनन् । कतिपय क्षेत्रमा इन्टरनेट कमजोर हुन्छ । तर फोनको घण्टी बज्दा मानिस तत्काल सचेत हुन सक्छन् ।

विपद् विज्ञहरूका अनुसार नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा ‘लास्ट माइल कम्युनिकेशन’ अर्थात् अन्तिम व्यक्तिसम्म सूचना पुर्‍याउने प्रणाली नै सबैभन्दा चुनौतीपूर्ण विषय हो ।

केवल विपद् होइन, भविष्यको योजना पनि

नयाँ उपकरणले तत्काल बाढी पूर्वसूचनामा मात्र सहयोग गर्ने छैन ।

रोसीखोलाको हिउँद र वर्षायामको पानीको बहावबारे दीर्घकालीन तथ्याङ्क संकलन भएपछि भविष्यका सिँचाइ योजना, नदी व्यवस्थापन र सडक सुरक्षाका योजनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेष गरी रोसी खोलासुनकोशी नदी आसपासका क्षेत्रमा बसोबास, कृषि र यातायात पूर्वाधारलाई सुरक्षित बनाउन यस्ता प्रणाली महत्त्वपूर्ण मानिन्छन् ।

मनसुनको नयाँ यथार्थ

काभ्रेपलाञ्चोकमा मनसुन पहिलेदेखि आउँथ्यो । नदीहरू पनि पहिलेदेखि नै बग्थे । तर जलवायु परिवर्तन, अव्यवस्थित बस्ती विस्तार र कमजोर पूर्वाधारका कारण अहिले जोखिमको स्वरूप बदलिएको छ ।

अब प्रश्न केवल “कति पानी पर्छ ?” भन्ने मात्र छैन । प्रश्न यो पनि हो — “सूचना कति छिटो पुग्छ ?”

र सम्भवतः यही प्रश्नको उत्तर खोज्दै काभ्रेका खोलाकिनारमा अहिले नयाँ उपकरणहरू जडान भइरहेका छन् ।

तपाईको प्रतिक्रिया