‘एभरेस्ट फिल्म फेस्टिभल’ : चीनको पर्दामा नेपाली चलचित्र

काठमाडौं, १४ जेठ । नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । चलचित्रकर्मीहरूले उक्त फेस्टिभललाई नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेका छन् ।
फेस्टिभलको अनुभव सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल एआइ फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशू (शु–ग) ले नेपाली चलचित्रलाई चीनको बजारमा लैजाने प्रस्ताव राखेपछि यस अभियानको सुरुआत भएको जानकारी दिनुभयो । उहाँले प्रारम्भमा यो योजना ‘सुन्दर सपना’ जस्तै लागेको भए पनि निरन्तर प्रयासपछि त्यसले मूर्त रूप लिन थालेको बताउनुभयो ।

उहाँका अनुसार नेपाली चलचित्रलाई चिनियाँ बजारमा पुर्‍याउनु केवल प्राविधिक प्रक्रिया मात्र नभई दुई फरक कानुन, संस्कार र कार्यशैलीबीच सेतु निर्माण गर्नुजत्तिकै चुनौतीपूर्ण कार्य थियो । “चीनको कडा सेन्सर प्रणाली र प्रक्रियागत जटिलताका बीच नेपाली चलचित्रलाई स्थापित गर्नु सगरमाथा आरोहणसरह चुनौतीपूर्ण थियो,” उहाँले भन्नुभयो ।

फेस्टिभलका लागि नेपालबाट २३ चलचित्र पठाइएकामा ११ चलचित्र छनोटमा परेका र अन्ततः ६ चलचित्रले चिनियाँ सेन्सर प्रक्रिया पार गरेको जानकारी दिइयो । छनोट भएका चलचित्रहरूमा ‘एन्जिला’, ‘छक्का पन्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल’ रहेका छन् । फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक समाजका तत्कालीन अध्यक्ष जनकदीप पराजुलीलगायत निर्देशक, निर्माता र कलाकारहरूको सहभागिता रहेको थियो । साथै सशस्त्र प्रहरी बलका कलाकार टोलीले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका क्रममा चीनको छाङ्शामा सात दिनसम्म नेपाली चलचित्र प्रदर्शन गरिएको थियो । एउटै समयमा पाँच वटा हलमा नेपाली चलचित्र प्रदर्शन भएको अनुभव नेपाली टोलीका लागि अविस्मरणीय रहेको सहभागीहरूले बताएका छन् । फेस्टिभल अवधिमा आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’ लाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । चीन एआई प्रविधिमा अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपाली टोलीले चलचित्र निर्माणमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर पाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया