
बनेपा/बिहानको झिसमिसेमै पनौतीबाट काठमाडौंतर्फ छुट्ने बस यात्रुले भरिभराउ थियो । कार्यालय पुग्न हतारिएका कर्मचारी, कलेज जाँदै गरेका विद्यार्थी र अस्पताल धाउने बिरामीका आफन्त—सबै आ–आफ्नै चिन्तामा थिए । बस जनागाल पुग्दा एक युवती अचानक आत्तिँदै कराइन्, æमेरो पर्स खोइ ?Æ
बसभित्र एकछिन सन्नाटा छायो । केही यात्रुले सिटमुनि खोजे, कतिले झोला चेक गरे । तर उनको पर्स त्यहाँ थिएन। त्यसमा नगद, एटीएम कार्ड, नागरिकता र मोबाइल नम्बर लेखिएका कागजात थिए ।
यात्रुहरूका अनुसार, बस अत्यधिक भीड भएको मौका छोपेर पकेटमार समूहले घटना घटाएको हुनसक्ने आशंका गरिएको छ ।
यस्ता घटना अहिले पनौती–काठमाडौं, धुलिखेल–काठमाडौं र काभ्रेका शाखा सडक हुँदै अरनिको राजमार्ग तथा हेलम्बु सडकखण्डसम्म बढ्दै गएको यात्रुहरूको गुनासो छ । विशेषगरी बिहान र साँझको व्यस्त समयमा सार्वजनिक बस तथा माइक्रोभित्र पर्स चोरी, मोबाइल हराउने र झोला च्यातिने घटना दोहोरिन थालेका छन् । केही दिनअघि हेलम्बुमा कुन्तावेशीको एक बृद्ध महिलाको सुनको सिक्री नै चोरिएको थियो ।
धुलिखेलबाट काठमाडौं दैनिक यात्रा गर्ने सरिता तामाङ भन्छिन्, æपहिला–पहिला कहिलेकाहीँ सुनिन्थ्यो, अहिले त बस चढ्नासाथ झोला अँगालेर बस्नुपर्ने अवस्था आएको छ । भीडमा कसले हात हाल्छ थाहा नै हुँदैन।Æ
पनौतीका व्यवसायी राजन श्रेष्ठले केही दिनअघि बसमै मोबाइल गुमाएको सुनाए । æबसभित्र यति धेरै भीड थियो कि खल्तीमा हात हालिएको नै थाहा भएन,Æ उनले भने, æओर्लिएपछि मात्रै मोबाइल हराएको थाहा पाएँ ।Æ
यात्रुका अनुसार केही समूह योजनाबद्ध रूपमा बसमा चढ्ने, भीड बढाउने र यात्रुको ध्यान अन्यत्र मोडेर चोरी गर्ने शैली अपनाउने गरेका छन् । कतिपय अवस्थामा महिलालाई नै प्रयोग गरेर यात्रुसँग ठोक्किने र त्यसैबीच पर्स वा मोबाइल निकाल्ने गरिएको आरोप छ ।
अरनिको राजमार्ग हुँदै काठमाडौं आउने सार्वजनिक सवारीमा यस्ता घटना बढी हुने चालक तथा सहचालकहरू बताउँछन् । æभीड धेरै हुने र यात्रु उभिएर यात्रा गर्नुपर्ने बसमा पकेटमार सक्रिय देखिन्छन्,Æ एक सहचालकले भने, æहामीले शंका लागेकालाई निगरानी गरे पनि प्रमाणित गर्न गाह्रो हुन्छ ।Æ
हेलम्बु सडकखण्डबाट आउने यात्रुहरूले पनि बजार क्षेत्र र चोकहरूमा चढ्ने अपरिचित व्यक्तिबाट बढी सतर्क रहनुपर्ने अवस्था आएको बताएका छन् । विशेषगरी साँझपखको भीडमा विद्यार्थी र महिला यात्रु बढी निशानामा पर्ने गरेको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एक अधिकारीले सार्वजनिक यातायातमा चोरीका घटना बढेको स्वीकार गर्दै यात्रुलाई सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार बसभित्र संदिग्ध गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्न, झोला अगाडि राख्न र अत्यधिक भीड भएको अवस्थामा मूल्यवान सामग्री सुरक्षित राख्न अनुरोध गरिएको छ । यात्रुहरू भने सार्वजनिक सवारीमा सुरक्षाको अनुभूति कमजोर बन्दै गएको बताउँछन् । æअब बस चढ्दा गन्तव्य पुग्नेभन्दा पनि सामान सुरक्षित रहला कि नरहला भन्ने डर बढी हुन थालेको छ,Æ एक यात्रुले गुनासो गरे ।

तपाईको प्रतिक्रिया