
बनेपा, जेठ २० — काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा दुई जनाको कंकाल फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट मृतकहरू सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम र उनकी साथी शर्मिला चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम मिति २०८३ वैशाख १९ गतेदेखि बिदामा घर जान निस्किएका थिए । तर उनी घर नपुगेपछि तथा कार्यालयसँग पनि सम्पर्कविहीन भएपछि सशस्त्र प्रहरी बलले खोजतलासका लागि अनुरोध गरेको थियो।
त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी पनि सम्पर्कविहीन बनेपछि उनका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरीले मोबाइल लोकेसन, कल डिटेल रेकर्ड (सीडीआर), बैंकिङ कारोबार तथा अन्य प्राविधिक माध्यमबाट खोजी कार्य अघि बढाएको थियो। खोजीका क्रममा शर्मिलाको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोकमा देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले संयुक्त रूपमा अनुसन्धान थालेको थियो।
यसै क्रममा बुधबार बिहान करिब १०ः३० बजे पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनभित्र दुई वटा मौवा रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा पुरुष र महिलाको सडेगलेको कंकाल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पाँचखाल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा मृतकहरूले लगाएका कपडा तथा घटनास्थलबाट बरामद भएका कागजातका आधारमा उनीहरूको पहिचान गरिएको हो। आफन्त तथा साथीभाइले समेत शवसँग भेटिएका सामग्रीको सनाखत गरेका छन्।
दुवै शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया