शिक्षा केवल प्रमाणपत्र होइन, जीवन निर्माणको आधार हो : वसन्तराज नेपाल


शिक्षा क्षेत्रलाई राजनीतिक प्रभाव, अनावश्यक विवाद र आरोप–प्रत्यारोपको माध्यम बनाउनु भन्दा राष्ट्र निर्माणको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा शिक्षा क्षेत्रका अगुवाले जोड दिएका छन् । गुणस्तरीय शिक्षा, अनुशासन, व्यवहारिक ज्ञान तथा नैतिक मूल्यको विकासमार्फत सक्षम नागरिक उत्पादन गर्न सके मात्र देशको समग्र विकास सम्भव हुने उनीहरूको भनाइ छ ।
काभ्रे इङ्लिस बोर्डिङ स्कुल, पनौतीका प्रिन्सिपल तथा प्याब्सन काभ्रेका उपाध्यक्ष वसन्तराज नेपालले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई जीवन निर्माण गर्ने आधार भएको बताउनुभएको छ ।
विस्तृत अन्तर्वार्तामा उहाँले शिक्षा क्षेत्रलाई प्रतिस्पर्धा र विवादभन्दा माथि उठाएर सहकार्य, समन्वय र दीर्घकालीन सुधारतर्फ केन्द्रित गर्नुपर्ने धारणा राख्नुभएको हो ।
उहाँका अनुसार विद्यालय भनेको केवल पाठ्यपुस्तकको ज्ञान दिने संस्था मात्र होइन, असल नागरिक निर्माण गर्ने थलो पनि हो । विद्यार्थीमा अनुशासन, जिम्मेवारी, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र नैतिकता विकास गर्न विद्यालयको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

æशिक्षा जीवन निर्माणको आधार हो । विद्यार्थीलाई केवल परीक्षामा उत्तीर्ण गराउने मात्र नभई व्यवहारिक जीवनमा सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने उद्देश्य शिक्षा प्रणालीको हुनुपर्छ,Æ उहाँले भन्नुभयो ।

नेपालले निजी तथा सामुदायिक विद्यालयबीच देखाइने विभाजनकारी दृष्टिकोणले शिक्षा क्षेत्रलाई कमजोर बनाउने बताउनुभयो । दुवै क्षेत्रको आफ्नै महत्व र योगदान रहेको उल्लेख गर्दै उहाँले सहकार्य र अनुभव आदानप्रदानमार्फत शैक्षिक गुणस्तर अझ प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय शिक्षामा अत्यधिक राजनीतिक हस्तक्षेप, बारम्बारको नीतिगत परिवर्तन तथा विवादले शैक्षिक वातावरण अस्थिर बन्न थालेको उल्लेख गर्नुभयो । यस्ता गतिविधिले विद्यार्थी, शिक्षक र अभिभावकमा अन्योल सिर्जना गर्ने भएकाले शिक्षा क्षेत्रलाई स्थिर, विश्वसनीय र दीर्घकालीन योजनासहित अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

विद्यालय शिक्षामा आधुनिक प्रविधिको प्रयोग, व्यवहारिक तथा सीपमूलक शिक्षाको विस्तार र विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आजको पुस्तालाई केवल सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने भन्दै उहाँले प्रविधि, सञ्चार, रचनात्मकता तथा व्यवहारिक सीपसँग जोडिएको शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार अहिलेका विद्यार्थी विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्नुपर्ने अवस्थामा छन् । त्यसैले विद्यालयले समयअनुसार शिक्षण पद्धति परिवर्तन गर्दै अनुसन्धान, प्रस्तुतीकरण, नेतृत्व विकास र नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

नेपालले अभिभावकको भूमिकालाई पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यालयले मात्र राम्रो शिक्षा दिन नसक्ने भन्दै उहाँले घरपरिवार, समाज, शिक्षक र विद्यालयबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । æविद्यार्थीको पहिलो विद्यालय घर हो । अभिभावक सचेत र जिम्मेवार भएमा बालबालिकाको सिकाइ प्रभावकारी हुन्छ,Æ उहाँले भन्नुभयो ।

उहाँले ग्रामीण तथा शहरी क्षेत्रबीचको शैक्षिक असमानता हटाउन राज्यले विशेष नीति ल्याउनुपर्ने सुझाव दिनुभयो । दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षक, प्रविधि तथा पूर्वाधार अभाव रहेको उल्लेख गर्दै उहाँले समान अवसर सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपालले शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खर्चका रूपमा नभई भविष्य निर्माणको आधारका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

उहाँले शिक्षालाई राजनीतिक स्वार्थभन्दा माथि राखेर साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सके मात्र सक्षम, सभ्य र जिम्मेवार समाज निर्माण सम्भव हुने निष्कर्ष व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया