
जलवायु परिर्वतनको असर किसानकोे पशुपालनमा पर्न थालेको भन्दै किसानले सरकारको ध्यानाकर्षण गराएका छन् । पशुपालनमा घाम र पानीले ठूलो भुमिका खेल्ने र जलवायु परिवर्तनले खेती प्रणालीलाई नै असर पारेकाले किसानले पनि त्यसमा ध्यान पुयाउन आवश्यक हुने त्यस क्षेत्रका जानकारहरुले उल्लेख गरेका छन् ।
बागमती प्रदेशकै समुदायमा आधारित उत्कृष्ट दुग्ध उत्पादक सहकारी सेतीदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष विदुर कोईरालाले किसान जलवायु परिर्वतनको प्रत्यक्ष चपेटामा परेको र त्यसले दुग्ध तथा मासु उत्पादनमा असर पारेको उल्लेख गर्नुभयो ।
अत्याधिक जाडो, गर्मी तथा अनावृष्टि र अतिवृष्टिले किसानलाई पशुपालनमा असर पारेकोे उहाँले बताउनुभयो । दुधको लागत मूल्यमा निरन्तर बृद्धि भएकाले सरकारले दुध उत्पादनको लागत मूल्य घटाउन अनुदानसँगै घासमा आधारित पशुपालनलाई प्रोत्साहन दिनु पर्नेमा जोड दिनुभयो । उहाँले सामुहिक रुपम साईलेज बनाउन तालिम, उपकरण र प्रविधिको विस्तार मात्र गर्न सकेमा त्यसले दुध उत्पादनको लागत मूल्य घट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी महिनाबाट आफ्नो सहकारीले साईलेज उत्पादनम थाल्ने बताउनुभयो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिव कोईरालाले सरकारले अझैपनि नियमित रुपमा दुधको भुक्तानी नगर्दा किसान समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले एकातिर दुधमा अनुदानको व्यवस्था आवश्यक रहेकोे र अर्काेतिर किसानले उत्पादनमा लागत मूल्य कम गराउन भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका कोेषाध्यक्ष शान्ता न्यौपानेले पशुपालनसँग सामुदायिक वनको प्रत्यक्ष सम्बन्ध रहने उल्ले गर्नुभयो । उहाँले पशुपालन कम हुन थालेपछि वनको संरक्षण र प्रयोगमा निरन्तर कमी आएको उल्लेख गर्नुभयो ।
धुलिखेल नगरपालिकाका प्रमुख निरञ्जन जंगमले धुलिखेल नगरपालिकाले दुधबाट आत्मनिर्भर बनाउने प्रयास गरेको बताउनुभयो । उहाँले किसानको पक्षमा नगरपालिका सदैव अग्रणी रहेको बताउँदै साईलेज बनाउन पनि सहयोग गर्न उल्लेख गर्नुभयो ।
दुधमा लागत मूल्य घटाउन किसानले घाँसमा आधारित पशुप्रणालीमा चासो दिएका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, सामुदायिक वन उपभोक्ता महासंघले किसानसँग पुगेर दुधको लागत मूल्य घटाउने उपायको खोजिमा लागेको हो ।
बर्षाको समयमा त्यसै खेर जाने घाँसलाई साईलेजको रुपमा हिउँदमा र सुख्खा समयमा प्रयोग गर्न सकिने भएकाले त्यसको प्रयोग बढाउन उपाय खोज्न आवश्यक हुने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले दुधमा आत्मनिर्भर बनाउन साईलेजको प्रयोगबारे किसानसम्म जागरण फैलाउन कामको सूरुवात गरेको उल्लेख गर्नुभयो । उहाँले दुधको लागत मूल्य घटाउनु भनेको आत्मनिर्भर र दुधमा युवाको आकर्षण बढाउनु रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँबरको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । डेरी उद्योगी संघका अध्यक्ष राजकुमार दाहाल, राष्टिय दुग्ध विकास बोर्डको हसना मैया श्रेष्ठ, दुग्ध विकास संस्थानका गणेश यादव, धुलिखेल नगरपालिका वडा नं ११ का वडाअध्यक्ष नारायण वडाल, पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. वृजकिशोर यादव, राष्टिय सहकारी बंैक बनेपाका प्रमुख उपेन्द्र दाहालले मतव्य राखेका थिए ।
सो अवसरमा शिवप्रसाद कोईराला र वृशकिशोर यादवले साईलेज सम्बन्धि अनुशिक्षण दिनुभएको थियो ।
घाँस प्रयोग गर्न जान्दैनन किसान
ज्ञान नहुँदा किसानले आफूसँग भएको घाँसको राम्रोसँग प्रयोग गर्न नसकेको यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् ।
नेपालमा ‘साइलेज’ (हरियो घाँस सुकाएर बनाइएको) को इतिहास धेरै लामो भए पनि यसको विस्तार भने त्यति धेरै भइसकेको छैन । २०२२ सालमै नेपालमा मकैबाट साइलेज बनाइएको थियो । तत्कालीन स्विस लाइभस्टक एक्सपोर्ट डा. मोन्चले पशु विकास फार्म जिरीमा साइलेज बनाउन सुरु गर्नुभएको थियो । पशु विकास फार्म पोखरामा आर्थिक वर्ष २०३४/३५ मा नै मकै तथा टिओसेन्टी घाँसबाट साइलेज बनाइँदै आएको छ ।
घाँस कम हुने समय वा हिउँदमा गाईभैँसीलाई घाँसमा भएको पौष्टिक तìव खुवाउन सकिने भए पनि नेपाली किसानले यसको प्रयोगमा चासो नदिएको पशु प्राविधिक उद्धवप्रसाद सापकोटा बताउनुहुन्छ । उहाँले नेपालमा खोले र पराल खुवाउने परम्परा रहे पनि विकसित मुलुकमा साइलेज बनाउनु सामान्य नै मानिने उल्लेख गर्नुभयो । हरियो अवस्थामा नै रहेको घाँस तथा घाँसेबालीलाई उपयुक्त समयमा काटी त्यसबाट ३० देखि ३५ प्रतिशत जलाङ्शको मात्रा घटाई ओइल्याएर साइलेज बनाउन सकिने उहाँले बताउनुभयो ।
ओइलाएको घाँसलाई १–३ सेमीका टुक्रा पारी हावा पस्न नसक्ने गरेर खाडल वा प्लास्टिक झोलामा तह तह बनाई खाँदेर घाँसमा रहेको सम्पूर्ण पोषक तìवहरूलाई कायमै राखी अम्लीयकरण प्रक्रिया पूरा गरेको पदार्थ नै साइलेज भएको उहाँ बताउनुहुन्छ ।
हिउँद तथा सुक्खा मौसममा खुवाउनका लागि बर्खामा बढी भएको घाँस तथा घाँसेबालीलाई त्यसमा निहित पोषिलोपनलाई कत्ति पनि घट्न नदिने भएकाले यसको ठुलो महìव हुने कृषि प्रचार अधिकृत कृष्ण धितालको भनाइ छ । “दुध उत्पादनका लागि बाह्रै महिना हरियो घाँसको उपलब्धता आवश्यकता अनुसार हुन सक्दैन । हरियो घाँस उत्पादन गर्न मौसमी प्रतिकूलता, भू–बनोट र सिँचाइको कमीले गर्दा सबै याममा हरियो घाँस उत्पादन गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “खास गरी मङ्सिरदेखि जेठसम्म हरियो घाँसको बढी अभाव भएको पाइन्छ ।
यस अवधिमा पशुलाई पोषिलो खुराकका लागि हिउँदे घाँस पर्याप्त मात्रामा खेती गर्नु पर्दछ, होइन भने साइलेज उत्पादनका लागि घाँस खेती गरी उत्पादित घाँसबाट साइलेज बनाउन सकिन्छ ।” साइलेज सबै प्रकारका घाँसबालीबाट बनाउन सकिन्छ । मोटो डाँठ भएको घाँस खास गरी मकै, जुनेलो, टिओसेन्टी, नेपियर घाँसहरू साइलेजका लागि उपयुक्त मानिन्छ । साइलेज बनाउने घाँसमा गुलियोपनको मात्रा धेरै हुने भएकाले पशुले यसलाई रुचि मानेर खाने गर्दछन् ।
ठुला पशु फार्म र डेरी उद्योगले साइलेज प्रयोगलाई प्राथमिकतामा राखे पनि किसान तहसम्म यसको प्रयोग नहुँदा किसानले पराल, ढुटो र दानामा अर्बौं रुपियाँ खर्च गरिरहेको धितालले बताउनुभयो । साइलेजको प्रयोगले दुध उत्पादनको लागत मूल्यमा कमी आउने र हिउँदमा पनि दुधालु पशुले साबिककै दुध दिने उहाँले दाबी गर्नुभयो । पछिल्लो समय डेरी फार्ममा सुक्खा यामको अवधिमा जतिबेला हरियो घाँसको अभाव हुन्छ, त्यस समयमा पशु आहारका लागि फार्ममा भएको पशु सङ्ख्याका आधारमा साइलेज बनाउने चलन बढेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो ।
साइलेज बनाउने प्रक्रियालाई कतिपय कृषकहरूले झन्झट र असजिलो ठान्ने गरेका छन् । सुरुमा यसको संरचना निर्माण गर्न केही कठिन भए पनि पछि कुनै किसिमको समस्या नहुने दाहालले स्पष्ट पार्नुभयो । काभ्रेपलाञ्चोकका किसान ध्रुवप्रसाद पराजुली खोले र पराल खुवाउन सजिलो हुने भएकाले पनि साइलेजमा आकर्षण नभएको बताउनुहुन्छ ।
साइलेजको प्रयोगबाट पशुहरू स्वस्थ्य रहने, दुधको उत्पादन लागत घट्ने हुँदा हिउँद तथा सुक्खा समयमा हुने पशु आहारको समस्यालाई न्यूनीकरण गर्न साइलेजबाहेक अरू विकल्प नभएकाले सरकारले नै यसको प्रचार गर्न आवश्यक रहेको पशु प्राविधिक योगेश लम्सालले बताउनुभयो । व्यावसायिक गाईभैँसी पालक कृषकहरूले यसको प्रयोगको बारेमा सोच्ने बेला आएको बताउँदै उहाँले यसको प्रयोगले किसानले आत्मनिर्भरको पथमा जान सक्ने दाबी गर्नुभयो ।
तीन दशकदेखि घाँस खेतीमा संलग्न किरण खरेल घाँसबाहेक दुध उत्पादन दाना र ढुटोबाट सम्भव नहुने बताउनुहुन्छ । उहाँले सरकारले घाँस खेतीको विस्तार, साइलेज निर्माणका लागि ग्रामीण तहसम्म पुगेर किसानलाई तालिम दिन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया