केशव घिमिरे सुमन
#stayhumble in #victory and #graciouss in #defeat
तिमी भन्छौ “म हारेँ।”
तर तिमीले त केवल चुनाव हारेका हौ; तिमीले ल्याएको व्यवस्था अझै जितिरहेको छ।
अनि तिमी भन्छौ, “म जितेँ।”
केहि नगरि कसरि जित हुँन्छ ? साँचो जित त तिमीले जनतासँग गरेका बाचा पूरा गरेपछि मात्र हुन्छ।
अहिले, न त हारको अन्त्य भएको छ, न जितको सुरुवात,
हामी त केवल अलमलको एउटा मोडमा उभिएका छौँ।
नेपालको पछिल्लो चुनावी परिणामपछि एउटा भाष्य निकै चर्चामा छ,पुराना दलहरूले भोगेको पराजय उनीहरूका “बुढा नेताहरू” र तिनीहरूको शैलीका कारण भएको हो। सुन्दा यो तर्क केही हदसम्म सत्यजस्तो पनि लाग्ला। तर के नेपाली जनतामा पुराना राजनीतिक दलहरूप्रति उत्पन्न भएको वितृष्णाको कारण यत्ति मात्रै हो त? पक्कै पनि होइन।
वास्तवमा यसको जरो अझ गहिरो छ। शीर्ष नेताहरूका गुण, अवगुण र राजनीतिक संस्कारहरू तल्लो तहसम्म नक्कल हुने प्रक्रियाले पनि ठूलो भूमिका खेलेको देखिन्छ। उदाहरणका लागि, के.पी. ओलीको असहिष्णुता र अहंकारको शैली जस्तो व्यवहार कतिपय स्थानीय एमाले नेताहरूमा पनि देखिन थाल्यो। सहयात्रीहरूलाई साथ दिनेभन्दा पनि, असहमतिलाई दबाउने प्रवृत्ति बढ्दै गयो, जसरी ओलीले भीम रावलप्रति देखाएको व्यवहारको चर्चा हुन्छ, त्यसको छायाँ स्थानीय राजनीतिमा पनि देखियो।
त्यस्तै, शेरबहादुर देउवा र आरजु देउवाको वरिपरि हुने आर्थिक व्यवस्थापन र सुशासनसम्बन्धी प्रश्नहरू पनि कतिपय स्थानमा कांग्रेसका स्थानीय प्रतिनिधिहरूको व्यवहारमा झल्किएको अनुभूति जनताले गरे। नेकपामा त झन् कतिपय स्थानीय नेताहरू आफूलाई सानो–साना “प्रचण्ड” नै ठान्न थाले, दुनिया जे भए पनि आफ्नै व्यक्तित्व र राजनीतिक चालले सबैलाई आफ्नो काबुमा राख्न सक्छु भन्ने भ्रममा। एक पटक तपाइँ तपाइका वरिपरिका नेताहरूलाइ सम्झनुस त ।
कमजोरीहरूका बाबजुद पनि, यिनै दलहरूले नेपाललाई हिजोको कालकोठरी (जहाँनिया राणाशासन, विविध प्रकारका विभेद, र भौगोलिक तथा प्रशासनिक जटिलताले थिचिएको अवस्था) बाटआजको लोकतान्त्रिक यात्रासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले यी दलहरूका जरा यति कमजोर र आयु यति छोटो छैन कि एकपटकको हारले समाप्त हुँन्छन ।
यसैले, अहिले पुराना दलहरूभित्र कसैले राजीनामा दिने वा केही व्यक्तिहरूलाई हटाउने मात्र समाधान होइन। आज सुनामीजस्तो विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सशक्त र उत्तरदायी बनाइराख्न, पुराना दलहरूको अस्तित्व र निगरानी अझै धेरै आवश्यक रहन्छ।
आजको आवश्यकता स्पष्ट छ, “हार्नेहरू नआत्तिउन्, जित्नेहरू नमात्तिउन्” राजनीतिक र सामाजिक सहिष्णुतालाई जोगाउँदै, प्रतिस्पर्धा र सहकार्य दुवैलाई साथ लिएर नयाँ नेपालको निर्माणतर्फ अघि बढ्नु नै समयको माग हो।
अत: “बैचारिक सुस्पष्टता र सुब्यवस्थित याेजना” विना मनाेगत चाहनाले मात्र चाँहि समृध्दि सम्भव छैन ।
“हार्नेहरू नआत्तिउन्, जित्नेहरू नमात्तिउन्”
2026-03-10T19:45:24+05:45

तपाईको प्रतिक्रिया