दसंै आएपछि नेपालमा मासुको खपत बढ्छ । अघिपछि मासुको थोरै उपभोग गर्ने उपभोक्ताले पनि सिङ्गो खसी नै किन्छन् । राँगा, कुखुरा, सुङ्गुर र बङ्गुरको मासुपनि अत्याधिक नै खपत हुन्छ ।
अत्याधिक खपत हुने दसैंको मासु उपभोक्ताका लागि स्वस्थकर हुनु जरुरी रहेको पशु चिकित्सकले उल्लेख गरेका छन् । ‘स्वस्थ्य मासुले मात्रै शरिरलाई स्वस्थ्य बनाउँछ ।’
मासुलाई गोठदेखि ओठसम्म पनि भन्ने गरिन्छ । गोठबाट विभिन्न प्रक्रिया हुंदै ओठसम्म आईपुग्दा यसको दूषित मात्रा कम हुनु जरुरी छ’ पशुविज्ञ तथा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले बताउनुभयो ।
किसानले गोठमा पालेको पशु उपभोक्ताले कुनै पनि तरिकाबाट मासुको रुपमा प्राप्त गर्दा स्वस्थ हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सामान्यतया घरमा पालेको पशु स्वस्थ पशु नै किसानले बजारसम्म पठाउने गरेका हुन्छन् । तथापि ठूलो चाड र पैसा आउने भएकाले यो समयमा रोगी पशुहरु पनि बजारमा आईपुगेका हुन सक्छन् । मासुको धेरै माग हुने ठूला शहरहरुमा टाढा–टाढादेखि ढुवानी गरेर खसीबोका लगायतका पशु ल्याईदा उनीहरु बिरामी पर्ने, मर्ने गर्छन् त्यसमा ढुवानीकर्ताले ध्यान दिनु जरुरी छ ।
दसैंमा मासु किन्दा कुन स्वस्थ्य र अवस्थ्य कुन पसलबाट किन्दा ठिक भन्ने कुराको ज्ञान उपभोक्तालाई हुन आवश्यक रहेको शाहीले उल्लेख गर्नुभयो ।
पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले विशेष गरेर मासुका लागि प्रयोग गर्ने पशु खरिद गर्दा बाहिरबाट हेर्दा टाठो देखिने फूर्तिकासाथ हिंडडुल गर्न सक्नेलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । आखाँबाट कचेरा निस्किएको र नाकबाट सिंगान बगेको पशु रोगी हुने उहाँले स्पष्ट पार्नुभयो ।
विशेष गरेर खसी, बोका किन्दा मुखबाट ¥याल नझारेको, खुट्टाहरु नसुन्निएको, भुँडी नढाडिएको र सामान्य रुपमा दिशा पिसाब गर्ने गरेको खसी बोकालाई छान्न आवश्यक हुने बताउनुभयो ।
उहाँले बाख्रा प्रजातीको औसत तापक्रम १०२ देखि १०४ सम्म हुने भएकाले तापक्रम छामेर पनि कति स्वस्थ छ अनुमान लगाउन सकिने बताउनुभयो । राम्रोसंग घाँस–पात पिठो खाने र सकभर दूब्लो दूब्लो खसीको मासु स्वास्थकर हुनेमा उहाँले जोड दिनुभयो ।
मानिसले एक ठाउँबाट अर्काे ठाउँसम्म यात्रा गर्दा खाजा पानी , दिसापिसाब र आरामको आवश्यकता परेजस्तै पशुलाई पनि
ढुवानीको अवधिभर कम तनाव हुने कार्य गर्न आवश्यक रहेको पशु कल्याणमा लामो समयदेखि कृयाशिल दुर्गानाथ दाहालले बताउनुभयो । उहाँले सकेसम्म पशुलाई मासुको रुपमा प्रयोग गर्न रोक्न नै आवश्यक भएको र प्रयोग गर्दा यातना दिन नहुने उल्लेख गर्नुभयो ।
पशु प्राविधिक सापकोटाले किसानबाट खरिद गरेको पशुलाई आरामसँग वधशाालसम्म पु¥याउन अनुरोध गर्नुभयो । सार्वजनिक सवारी साधनको डिकी, छत वा भित्र कहिँ पनि राखेर पशु ढुवानी गर्नु नगर्न उहाँले अनुरोध गर्नुभयो ।
यात्रा अवधिभरमा ठाउँ–ठाउँमा रोकेर पशुलाई घाँस–पात खुवाउने तथा आराम गराउने र यात्रा गराएर ल्याउने बितिक्कै पशुलाई बध गर्न नहुने बताउनुभयो । यात्राकै क्रममा बिरामी भएका पशु छन् भने त्यसलाई उपचार गरेर मात्रै बध गरिनु पर्छ ।
लामो समयदेखि मासु व्यवसायमा आबद्ध महेश थापाले बध गरिनु २४ घण्टा अगाडिबाट पशुलाई अन्न खान नदिए राम्रो हुने बताउनुभयो । पानी खुवाउन मिल्ने उहाँले स्पष्ट पार्नुभयो ।
पसलबाट मासु किनेर खानेहरुले स्वस्थ मासु कसरी चिन्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मासु स्वस्थ भए नभएको मूख्य गरेर मानवीय ज्यानेन्द्रीयबाटै जान्न सकिन्छ । मासु गन्हाएको वा नगन्हाएको सुँघेर थाहा पाउन सकिने उहाँले बताउनुभयो ।
मासुबाट सेतो पानी बगेको वा मासु चिप्लो भए नभएको हेरेर पनि जान्न सकिन्छ । धेरै दिनदेखिको बासी मासु राम्रो फ्रीजिङ नभएको अवस्थामा त्यस्तो हुन्छ । कहिलेकाहीँ कालो वा धेरै निलो भएको अवस्थामा मासु बिग्रीएको प्रष्टै देख्न सकिन्छ ।
काटेको मासु डिप फ्रिजमा राखेको छैन भने त्यो मासु पनि स्वस्थ नरहन सक्छ । दसैँ नजिकिँदै गर्दा सहरमा खसी–बोकाको बिक्री वितरण बढ्न थालेको छ । अन्य समयमा भन्दा दसैँमा धेरै मासु खाइन्छ। तर, यो वेलामा हामीले कस्तो मासु खाने भनेर थाहा पाउन जरुरी छ। हामीले खसी वा मासु छान्दा कम बोसो भएको छान्न आवश्यक रहेको सापकोटाले उल्लेख गर्नुभयो ।
त्यस्तै, नेपालमै उत्पादन भएका खसीबोका किन्दा मासु स्वादिष्ट र कम बोसो भएको पर्छ । भारतबाट आयातित खसीबोकाहरू धेरै मोटा हुन्छन् ।
गाउँघरमा घाँस, पानी र दाना खाएर हुर्किएका खसी काठमाडौंमा आउँछन् । त्यस्तै, खसी किन्दा कान छेडेको छ वा छैन हेरौँ। कानमा चिन्हहरू पनि लगाइएको हुन्छ । त्यसमध्ये हरियो चिन्ह लगाएको खसी रौज्न आवश्यक हुन्छ ।
पशु सेवा विभागले यो खसी खानको लागि उपयुक्त छ भनेर चिह्न लगाउने गर्छ । कतिपय खसी बिरामी वा रोगी छन् भने तीनको कानमा रातो ट्याट लगाइएको हुन्छ ।
अहिले जिउँदो खसी प्रतिकेजी ६ सय ५० पर्छ । दसैँसम्म यो मूल्य अझ बढ्न सक्छ । काटेको मासुको मूल्य अहिले १३ सय ५० सम्म छ । यो मूल्य पनि घटबढ हुन सक्छ । हाल नेपालमै उत्पादन गरिएका खसीबोकाले दसैँको वेला बजार धान्न सक्ने अवस्था हुन थालेको छ । किनभने, करिब ६० प्रतिशत नेपालकै उत्पादनले पुग्छ । अन्य ४० प्रतिशत भारतबाट ल्याउनुपर्छ । यसलाई पनि हामीले ध्यान दिएर कृषितिर लाग्ने हो भने रोक्न सक्छौँ र मासुमा आत्मनिर्भर बन्न सकिने अवस्था हुन्छ।
बिक्री वितरण गर्न सुरक्षित र सफा ठाउँ छैन
खसी–बोकाको बिक्री वितरण गर्नको लागि सुरक्षित र सफा ठाउँ छैन । हाल काठमाडौंमा भित्री गल्ली र चोकबाट पनि खसी बिक्री वितरण गरिन्छ । कलंकीको खसी बजार र टुकुचा खसी बजारमा सबैभन्दा बढी खसी ल्याइन्छ र यहाँबाट खुद्रा बिक्री हुन्छ । कतिपय किसानले बाटोबाटै पनि बिक्री वितरण गर्छन् ।
भेटेनरी जाँच गरेका खसी किनौँ
हाल बजारमा विभिन्न ठाउँबाट खसीहरू ल्याइन्छ र बिक्री वितरण गरिन्छ। गाउँघरबाट ल्याइएका खसीबोका सहरबाट बिक्री हुन्छन्। बाटैमा पनि किनबेच हुन्छ। तर, त्यसरी नकिनौँ । किनभने सबै खसी स्वस्थ हुँदैनन्। । आधिकारिक बिक्री केन्द्र वा बजारमा पुगेर किनबेच गर्दा स्वास्थ्य चाँज गरेका खसीबोका पाइन्छ ।
तपाईको प्रतिक्रिया