
कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा मल्चिङ प्रविधि प्रयोग गर्ने कृषकहरुको संख्या क्रमिक रुपमा बढ्दै गएपनि त्यहाँ प्रयोग हुने प्लाष्टिकको व्यवस्थापनमा सरकारी निकाय र कृषकले ध्यान दिन सकेका छैनन् । जसले कृषिमा प्लाष्टिक प्रदुषण बढाएको छ ।
चीन, अमेरिका, ईजरायल लगायतका देशमा मल्चिङ प्रविधिमा निश्चित समयमा त्यही कुहिने सामाग्रीको प्रयोग गरेर मल्चिङ विधि प्रयोग हुने भएपनि नेपालमा भने सिधै प्लाष्टिककै प्रयोगबाट मल्चिङहुँदै आएको छ । विदेशमा मल्चिङमा कागजको प्रयोग हुने गरेपनि नेपालमा भने अन्धाधुन्ध नै प्लाष्टिकको प्रयोग भईरहेपनि सरकारी निकायले त्यसको व्यवस्थापननमा खासै चासो भने दिन सकेको छैन ।
संघ ,प्रदेश र स्थानीय सरकारको प्रतिस्पर्धा बनेको अनुदानमा मल्चिङ प्रविधिको विस्तार र प्लाष्टिक टनेलमा खेतीमा विस्तार भएपनि त्यहाँ प्रयोग हुने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा ठूलो चुनौती देखिएको त्यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् ।
सहजै नगल्ने, जलाउँदा वातावरण र वायु प्रदुषण हुने र त्यत्तिकै फालेमा हावा, माटो, वातावरण र पानी प्रदुषित बनाउने भएकाले मल्चिङमा प्रयोग हुने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा चुनौती देखिएको लामो समयदेखि कृषि क्षेत्रमा आबद्ध रहनु भएको कृष्ण धितालले जानकारी दिनुभयो । तरकारीमा आत्मनिर्भर बनाउन मल्चिङ खेतीले सहयोग गरेपनि त्यसमा प्रयोग हुने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा ध्यान पु¥याउन भने आवश्यक हुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपालका कुन स्तरमा कृषिमा प्लाष्टिकको प्रयोग भएको छ भन्ने बारेमा सरकारी तथा गैर सरकारी निकायसँग तथ्याङ्क समेत छैन । विभिन्न नीजि कम्पनीलाई मल्चिङमा प्रयोग हुने प्लाष्टिकको आयत तथा उत्पादनमा अनुमति दिएपनि कति परिणाममा आयत भएको भन्ने बारेमा कुनै निकायसँग तथ्याङ्क नभएपछि व्यवस्थापनमा झनै समस्या देखिने भएको हो ।
खेती गर्नको लागि मल्चिङ र टनेलमा प्रयोग हुने प्लाष्टिक आयतको अवस्थाको विवरण कुनै निकायसँग छैन । प्लाष्टिक टनेलको प्रयोग बहुबर्षसम्म हुँदा व्यवस्थापनमा सहज हुने भएपनि मल्चिङ एक सिजनमा मात्रै हुने भएकाले व्यवस्थापनमा निक्कै चुनौतीपूर्ण देखिएको सिन्धुपाल्चोकका कृषक भानुभक्त श्रेष्ठले बताउनुभयो ।
हामीलाई उत्पादनमा सहयोग दिन अनुदामा प्लाष्टिक दिएपनि त्यसको व्यवस्थापनमा कसैले पनि सुझाव नदिएको उहाँले स्पष्ट पार्नुभयो । तराईबाट क्रमिक रुपमा पहाड उक्लन लागेको मल्चिङ प्रविधिले उत्पादनमा सहजता ल्याएपनि त्यसमा प्रयोग भएको प्लाष्टिकको व्यवस्थापनमा भने निक्कै सास्ती व्यहोर्न थालेको उहाँले स्पष्ट पार्नुभयो । मल्चिङमा प्रयोग भएको प्लाष्टिकको प्रयोग एक सिजनमा मात्रै हुने भएकाले समस्या झन बढ्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
व्यावसायिक रुपमा तरकारी खेती हुने ठाउँमा त्यस्ता प्रयोग भएका प्लाष्टिक खोलामा फालिएको, अनावश्यक रुपमा जलाउने गरेको र सार्वजनिक जमिन तथा वन क्षेत्रमा फालिएको अवस्थामा देखिने थालेको चितवनमा कृषक चुडामणि दुवालले बताउनुभयो ।
तीन तहका सरकारले कृषकहरुलाई मल्चिङ प्रविधितर्फ आकर्षित गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरे पनि मल्चिङमा प्रयोग गरिएको प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनको विषयमा भने सचेतना र कार्यक्रम भने सञ्चालन नगरेको उहाँले गुनासो गर्नुभयो । किसानले खेतबारीको सट्टामा नजिकैको खोला, सार्वजनिक वन र खाली जग्गामा त्यस्ता प्लाष्टिक राख्न बाँध्य भएको उहाँले बताउनुभयो ।
कृषि अनुशन्धान परिषद् (नार्क) ले पनि कृषि उत्पादनमा मल्चिङ विधीको प्रयोगले उत्पादन बढाउन सक्ने भएपनि प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा भने समस्या देखिन सक्ने उल्लेख गरेको छ । योजना बनाउने समय भएकाले यो बारेमा राष्ट्रिय बागवानी अनुशन्धान केन्द्रसँग समन्वय गरेर योजना बनाउने नार्कको सूचना अधिकारी डा.सुधा सापकोटाले बताउनुभयो ।
राष्ट्रिय बागवानी अनुशन्धान केन्द्रका प्रमुख डा.टिका चापागाईले विश्वका धेरै देशमा कागज र झारपातको प्रयोग गरेर मल्चिङ खेती प्रणालीको सुरुवात भएको र नेपालमा प्लाष्टिको मात्र प्रयोग हुनेमा त्यसको व्यवस्थापनमा चुनौतीपूर्ण रहेको स्वीकार गर्नुभयो । उहाँले कम लगतमा धेरै उत्पादन गराउने उदेश्यले यस्तो प्रविधिको विकास भएको औद्योगिक र सहरी फोहोर व्यवस्थापन हुँदै आएकोमा कृषिमा आउन सक्ने नकुहिने फोहोर व्यवस्थापनमा योजना बनाईने विश्वास दिलाउनुभयो ।
उहाँले त्यसका लागि आफ्नो कार्यालय र सोसँग सम्बन्धित कार्यालयसँगको छलफल र परामर्शमा सरकारसँग यसको व्यवस्थापनको आवश्यकताको बारेमा जानकारी गराउने उल्लेख गर्नुभयो ।
कृषि विकास कार्यालयका काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले मल्चिङ प्रविधिमा माटोको चिस्यान कायम राख्न, झारपात नियन्त्रण, थर्मोरेगुलेटरको काम गरेर उत्पादन धेरै हुने, जनशक्तिको कम प्रयोग र तुलनात्मक रुपमा बाली छिटो पाक्ने फाइदा रहेको बताउनुभयो ।
उहाँले मल्चिङ प्रविधिको प्रयोगको थुप्रै फाइदाहरु भए पनि यसमा प्रयोग गरिएको प्लाष्टिकको व्यवस्थापन भने चुनौतीको रुपमा रहेको बताउनुभयो ।
“सहजै नगल्ने, प्लाष्टिक जलाउँदा वातावरण र वायु प्रदुषण हुन्छ भने त्यतिकै फालेको खण्डमा हावा, माटो, वातावरण समेत प्रदुषित बनाउने भएकाले यसको दीर्घकालिन व्यवस्थापनमा चुनौती देखिन्छ” उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले मल्चिङ प्रविधिमा कम्तिमा ४० माइक्रोनको प्लाष्टिकको प्रयोग गर्नुपर्ने मापदण्ण्ड तोके पनि अधिकाँश कृषकहरुले भने लागत रकम कम गर्नका लागि २५ देखि ३० माइक्रोनको प्लाष्टिक प्रयोग गर्ने गरेकोले उक्त प्लाष्टिक एक वर्षमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
“कृषकहरुले सरकारले तोकेको मापदण्डको प्लाष्टिक प्रयोग नगर्दा वर्षेनी नयाँ प्लाष्टिक प्रयोग गर्नुपर्ने भएकोले उक्त प्लाष्टिकको व्यवस्थापनमा समस्या हुने गर्दछ” दवाडीले थप्नुभयो ।
सरकारले तोकेको ४० माइक्रोनको प्लाष्टिक प्रयोग गरेको खण्डमा तीन वर्षसम्म प्रयोग गर्न सकिने बताउनुभयो । बजारमा ४० माइक्रोनको प्लाष्टिक रोल (एकसय मिटर) को करिब पाँच हजार पाँचसय र २५ देखि ३० माइक्रोनको प्लाष्टिक एक रोलको तीन हजार पाँचसयदेखि चार हजार रुपियाँसम्म पर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया