बनेपामा स्वास्थ्य स्वयम्सेविका मार्फत आयुर्वेदको महत्व सिकाईदै

सन्तोष न्यौपाने

बनेपा÷आयुर्वेदले दिने सेवा प्रवाहको बारेमा बनेपा नगरपालिकाभरीका स्वास्थ्यस्वयम्सेविका मार्फत जिल्ला आयुर्वेद कार्यालय काभ्रेले सचेतना अभियान चलाउने भएको छ ।
घर–घरमा जाने स्वास्थ्य स्वयम्सेविका मार्फत आम नागरिकसम्म आयुर्वेदको पँहुच पुर्‍याउन बनेपा नगरपालिकाका ८४ जनालाई सचेतना कार्यक्रम संचालन गरेको हो ।
कोभिडको समयमा आम जनताको मन जित्ने काम गरेको जिल्ला आयुर्वेद कार्यालय काभ्रेले निशुल्क औषधि, उपचार तथा ल्यावको सेवा प्रदान गरिरहेको छ । त्यसमा आम नागरिकको पँहुच आफ्नो संस्थासम्म पुर्‍याउने हेतुले सचेतना कार्यक्रम गरेको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा.मनोजकुमार चौधरीले बताउनुभयो ।
उहाँले बनेपा नगरपालिकाले सदैव सहयोग गरिरहेको स्मरण गराउँदै बनेपा नगरपालिकाले जग्गा उपलब्ध गराएमा बागमती प्रदेशकै आयुर्वेद अस्पताल बनाउन प्रदेश सरकारले रकम निकासा गर्ने बताउनुभयो ।
उहाँले कोभिडको समय नगरपालिकासँग सहकार्य गरेर आयुर्वेदिक औषधि वितरण गरेको स्मरण गर्दै डा.चौधरीले आफूहरु दिएको सेवाको बारेमा घरघरमा छलफल होस् भनेर स्वयसेविकालाई अनुशिक्षण गरेको स्पष्ट पार्नुभयो ।
बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत कविराज उप्रेतीले आफूहरुले सदैव आयुर्वेदलाई प्रोत्साहन गर्ने कुरामा दृढ रहेको बताउनुभयो । जिल्लामा धेरै सरकारी कार्यालय रहेपनि जिल्ला आयुर्वेद कार्यालय आफ्नो क्षेत्रमा रहेको कुराले धेरै गर्वको महसुस हुने जग्गा उपलब्ध गराउने बिषयमा नगरपालिका सकारात्मक रहेको भन्नुभयो । उहाँले आयुर्वेदले मानिसलाई स्वस्थ्य राख्न निक्कै महत्व खेल्ने भएकाले त्यसको विस्तारमा आफूले सकेको सहयोग गर्ने भन्नुभयो ।
उहाँले आधुनिक औषधि र चिकित्सा पद्धतीसँगै आयुर्वेदिक उपचार र औषधिमा ध्यान दिनु आवश्यक रहेको भन्नुभयो ।
पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले कोभिडमा मात्रै नभएर पछिल्लो समय बढ्दो नसर्ने रोगको निराकरणको लागि आयुर्वेद अचूक हतियार रहेको बताउँदै यसको विस्तार र प्रचारमा आम संचारको माध्यमबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला आयुर्वेद केन्द्र संचालक समितीका अध्यक्ष प्रकाश बहादुर कायस्थले बैदिक कालदेखिनै चलेको आयुर्वेदलाई सबैले ध्यान दिनु पर्ने भन्नुभयो । उहाँले हाम्रो भान्सादेखि दैनिक जीवनका खानपानमा औषधिको प्रयोग हुने भएकाले त्यसले निक्कै धेरै रोग लाग्न जोगाएको बताउनुभयो ।
उहाँले बनेपा नगरका स्वास्थ्य स्वयम्सेविकालाई आयुर्वेदको महत्वका बारेमा प्रचार गराउन सहयोग गर्ने भन्नुभयो । स्वास्थ्य मापदण्डको पालना गराएर दुई दिनमा फरक फरक समुह बनाएर सचेतना कार्यक्रम गरेको केन्द्रका कृष्ण पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया