
मेटा ले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको आरोपसम्बन्धी एक महत्वपूर्ण मुद्दामा अमेरिकाको केन्टकी राज्यस्थित एक स्कुल डिस्ट्रिक्टसँग सम्झौता गरेको छ ।
समाचार एजेन्सी एपीका अनुसार उक्त मुद्दामा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बालबालिका तथा किशोरकिशोरीमा लत लाग्ने (Addictive) ढङ्गले डिजाइन गरिएको आरोप लगाइएको थियो । ती प्लेटफर्मका कारण विद्यार्थीहरूमा चिन्ता, डिप्रेसन तथा आत्महानि जस्ता मानसिक समस्या बढेको दाबी स्कुल डिस्ट्रिक्टले गरेको थियो ।
क्यालिफोर्नियास्थित सङ्घीय अदालतमा सुनुवाइ सुरु हुन करिब तीन हप्ता बाँकी रहँदा दुवै पक्षबीच समझदारी भएको हो । यद्यपि सम्झौताका आर्थिक तथा अन्य सर्तहरू सार्वजनिक गरिएको छैन ।
मेटाले किशोरकिशोरीको सुरक्षाका लागि “Teen Accounts” तथा अभिभावकीय नियन्त्रण (Parental Control) सम्बन्धी सुविधा विकास गरिरहेको जनाएको छ । स्कुल डिस्ट्रिक्टले भने मानसिक स्वास्थ्य सेवामा बढेको खर्च र १५ वर्षे सुधार कार्यक्रम सञ्चालनका लागि ६० मिलियन अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति माग गरेको थियो । साथै, सामाजिक सञ्जाल प्लेटफर्महरूको डिजाइन परिवर्तन गर्न अदालतको आदेशसमेत माग गरिएको थियो ।
सामाजिक सञ्जाल कम्पनीविरुद्ध कानुनी दबाब बढ्दो
अमेरिकाभरका करिब १,२०० स्कुल डिस्ट्रिक्टहरूले मेटा, TikTok, Snapchat र YouTube विरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् । ती मुद्दाहरूमा सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकामा मानसिक स्वास्थ्य संकट बढाएको आरोप लगाइएको छ ।
टिकटक, स्न्यापच्याट र युट्युबले यसअघि नै सोही केन्टकी स्कुल डिस्ट्रिक्टसँग सम्झौता गरिसकेका थिए ।
यो घटनालाई सामाजिक सञ्जाल कम्पनीविरुद्ध बढ्दो कानुनी दबाबको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ । मार्च महिनामा लस एन्जलसमा भएको एक मुद्दामा मेटा र युट्युबलाई जानाजान लत लाग्ने किसिमको डिजाइन बनाएको तथा पर्याप्त चेतावनी नदिएको आरोपमा ६ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो ।
त्यसैगरी, न्यू मेक्सिकोको अर्को मुद्दामा मेटा लाई ३७५ मिलियन डलर जरिवाना गरिएको थियो । उक्त मुद्दामा कम्पनीले आफ्ना प्लेटफर्महरूको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रममा पारेको आरोप प्रमाणित भएको बताइएको छ ।
हाल मेटा, टिकटक, स्न्यापच्याट र युट्युबविरुद्ध उनीहरूका प्लेटफर्महरूले बालबालिकालाई लत लगाउने तथा मानसिक रूपमा हानि पुर्याउने दाबी गर्दै हजारौँ थप मुद्दा दायर भइरहेका छन् । विशेषज्ञहरूले यी पछिल्ला निर्णयहरूलाई युवा प्रयोगकर्तामाथि पर्ने असरका लागि सामाजिक सञ्जाल कम्पनीहरूलाई कानुनी रूपमा जिम्मेवार ठहर गर्ने महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेका छन् ।

तपाईको प्रतिक्रिया