निबन्ध प्रतियोगितामार्फत विद्यार्थीको सिर्जनशीलता उजागर गर्दै एभरेस्ट एकेडेमी

बनेपा। विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने भन्दै एभरेस्ट एकेडेमीले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, विचार अभिव्यक्ति र लेखन सीप विकासका लागि आयोजना गरेको निबन्ध प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न गरेको छ।

प्रतियोगिताले विभिन्न तहका विद्यार्थीलाई आफ्ना विचारलाई शब्दमा उतार्ने अवसर प्रदान गर्नुका साथै समसामयिक विषयमा अध्ययन, अनुसन्धान र विश्लेषणात्मक सोच विकास गर्न प्रेरित गरेको विद्यालयले जनाएको छ। कक्षा अनुसार फरक–फरक विषयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

कक्षा ४–५ का विद्यार्थीले ‘नेपालको पर्यटन’, कक्षा ६–८ का विद्यार्थीले ‘जलवायु परिवर्तन’ तथा कक्षा ९–१० का विद्यार्थीले ‘हाम्रो जीवनमा प्रविधिको महत्व’ विषयमा निबन्ध लेखेका थिए। प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुत गरेका विचार, भाषा शैली, विषयवस्तुको गहिराइ र सिर्जनात्मकताको आधारमा उत्कृष्ट विद्यार्थी छनोट गरिएको थियो।

प्रतियोगिताका विजेताहरूलाई विद्यालयका प्राचार्य अर्जुन थापाले सम्मान तथा पुरस्कार वितरण गर्दै सबै सहभागी विद्यार्थीलाई निरन्तर अध्ययन, लेखन र सिर्जनात्मक गतिविधिमा सक्रिय रहन प्रेरित गरे। उनले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता र अभिव्यक्ति कलाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने साहित्य शिक्षकहरूलाई विद्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ। प्रतियोगिताको मूल्याङ्कन र विजेता छनोटमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको विद्यालयको भनाइ छ।

प्रतियोगिताअन्तर्गत कक्षा ४–५ समूहमा स्मारिका तामाङ प्रथम, प्रज्ञा श्रेष्ठ द्वितीय, स्वरूप दाहाल तृतीय तथा सयश लामा सान्त्वना स्थान हासिल गर्न सफल भए। त्यसैगरी कक्षा ६–८ समूहमा आयान दाहाल प्रथम, पावोनी श्रेष्ठ द्वितीय, अनुरूप अधिकारी तृतीय तथा उषा पुलामी मगर सान्त्वना स्थानमा रहे।

कक्षा ९–१० समूहमा सुस्मिता तामाङ प्रथम, प्रभा सारु द्वितीय, वर्षा हुमागाईं तृतीय तथा श्रेया आले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्।

विद्यालयले यस्ता सिर्जनात्मक तथा बौद्धिक प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। निबन्ध प्रतियोगिताले विद्यार्थीमा लेखन संस्कृतिको विकास गर्दै समाज, राष्ट्र र विश्वप्रति जिम्मेवार नागरिक बन्ने आधार तयार गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया