
बनेपा/विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन । कक्षाकोठामा सिकाइने ज्ञानलाई व्यवहारमा उतार्न सक्ने क्षमता, नेतृत्व गर्ने साहस, समूहमा काम गर्ने सीप र जिम्मेवारी वहन गर्ने संस्कार पनि शिक्षाको महत्वपूर्ण पक्ष हो । यही उद्देश्यलाई केन्द्रमा राखेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित नाइटिङ्गेल एकेडेमीले विद्यार्थी नेतृत्व विकासलाई विद्यालय संस्कृतिको अभिन्न अंग बनाएको छ।

विद्यालयले हरेक वर्ष लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थी नेतृत्व चयन गर्दै आएको छ । यस वर्ष पनि निर्वाचन प्रक्रियामार्फत हेड छात्र, हेड छात्रा, सिनियर क्याप्टेन, हाउस क्याप्टेन, भाइस क्याप्टेन, गेम्स लिडर तथा विभिन्न नेतृत्वदायी पदमा विद्यार्थीहरू चयन भएका छन् । यसले विद्यार्थीलाई मतदान, उम्मेदवारी, प्रतिस्पर्धा र जिम्मेवारीको वास्तविक अभ्यास गराएको छ ।
विद्यालयका प्रिन्सिपल उमा बस्नेतका अनुसार नेतृत्व विकासले विद्यार्थीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । æविद्यार्थीले केवल राम्रो अंक ल्याएर मात्र सफल हुँदैनन्। उनीहरूमा नेतृत्व गर्ने क्षमता, निर्णय गर्ने साहस र समाजप्रतिको जिम्मेवारीबोध पनि हुनुपर्छ। त्यसैले हामीले अध्ययनसँगै नेतृत्व विकासलाई पनि उत्तिकै महत्व दिएका छौँ,Æ उहाँले बताउनुभयो ।

विद्यालयमा रहेका रेड, येलो, ब्लु र ग्रीन गरी चारवटा हाउसले वर्षभरि सञ्चालन हुने शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा खेलकुद गतिविधिमा प्रतिस्पर्धा गर्ने गर्दछन् । प्रत्येक हाउसमा सिनियर हाउस इन्चार्ज, हाउस क्याप्टेन, भाइस क्याप्टेन र गेम्स लिडर चयन गरिएको छ । यिनले आफ्ना हाउसका गतिविधि सञ्चालन, टोली व्यवस्थापन तथा विभिन्न प्रतियोगितामा नेतृत्व प्रदान गर्ने जिम्मेवारी पाउँछन् ।

त्यसैगरी विद्यालयले साना कक्षाका विद्यार्थीमा पनि नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले जुनियर हाउस इन्चार्ज, जुनियर हाउस क्याप्टेन, भाइस क्याप्टेन र गेम्स लिडर समेत चयन गरेको छ । यस व्यवस्थाले प्रारम्भिक तहदेखि नै विद्यार्थीलाई जिम्मेवारी बहन गर्ने अवसर प्रदान गरेको विद्यालयको विश्वास छ।
विद्यालयद्वारा गठित स्टुडेन्ट लिडरसिप टिम विद्यार्थी र प्रशासनबीचको सेतुका रूपमा कार्य गर्नेछ । अनुशासन कायम राख्ने, कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने, विद्यार्थीका सुझाव र आवश्यकतालाई विद्यालय प्रशासनसम्म पु¥याउने तथा विद्यालय गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि यही टोलीको हुनेछ ।
निर्वाचन प्रक्रियामा सहभागी विद्यार्थीहरूले आफ्ना योजना प्रस्तुत गरेका थिए । प्रचार–प्रसार, मतदान, मतगणना र परिणाम घोषणाको सम्पूर्ण प्रक्रियाले विद्यालयभित्र लोकतान्त्रिक संस्कारको अभ्यास गराएको छ। विद्यार्थीहरूका अनुसार नेतृत्वमा चयन हुनु केवल पद प्राप्त गर्नु होइन, साथीहरूको विश्वास जित्दै जिम्मेवारी बहन गर्ने अवसर पनि हो ।

अभिभावकहरू पनि विद्यालयको यस अभ्यासप्रति उत्साहित देखिन्छन् । उनीहरूका अनुसार नाइटिङ्गेल एकेडेमीले शैक्षिक उपलब्धिसँगै व्यवहारिक जीवनका लागि आवश्यक नेतृत्व, अनुशासन र सामाजिक मूल्य विकासमा समेत ध्यान दिएको छ ।
विद्यालयले वर्षौंदेखि शैक्षिक उत्कृष्टता, व्यक्तित्व विकास, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई सन्तुलित रूपमा अघि बढाउँदै आएको छ । यही कारण नाइटिङ्गेल एकेडेमी केवल उत्कृष्ट नतिजा दिने विद्यालय मात्र नभई भावी नेतृत्व उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा पनि स्थापित हुँदै गएको छ । आज विद्यालयको नेतृत्व सम्हालिरहेका यी विद्यार्थीहरू नै भोलि समाज, राष्ट्र र विश्वका जिम्मेवार नागरिक तथा सक्षम नेतृत्वकर्ता बन्ने विश्वास विद्यालय परिवारले लिएको छ ।

तपाईको प्रतिक्रिया