“पहिले यहाँ मकै मात्रै फल्थ्यो, अहिले कफीले गाउँ चिनिन थाल्यो” डाँडापारिका गाउँमा घरघर पुगेको कफी अभियान, ‘२० को नोट’ले बदल्दै किसानको जीवन


काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका पहाडी गाउँहरूमा केही वर्षअघिसम्म मकै, कोदो र फापर नै किसानको मुख्य आधार थिए । वर्षभरि दुःख गरेर उत्पादन गरे पनि धेरै परिवारलाई जीविका धान्नै मुस्किल पर्थ्यो । अहिले भने त्यही बारीमा कफीका हरिया बोट फैलिएका छन् ।

“पहिला अन्न मात्रै फलाउँथ्यौँ, पैसा हुँदैनथ्यो,” महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका किसान शङ्खलाल थोकर भन्छन्, “अहिले कफीबाट मात्रै वार्षिक १६ लाखभन्दा बढी आम्दानी भइरहेको छ ।”

उनले पाँच वर्षअघि केही बोटबाट सुरु गरेको कफीखेती अहिले १८ रोपनीमा फैलिएको छ । यस वर्ष मात्रै उनले करिब दुई टन कफी उत्पादन गरेका छन् । अहिले उनी कफी–नर्सरीसमेत सञ्चालन गरिरहेका छन् ।

डाँडापारिको दुर्गम मानिने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका मा कफीखेती अब व्यक्तिगत प्रयासमा सीमित छैन । गाउँपालिकाको नीति, सहकारीको सक्रियता र समुदायको सहभागिताले यो अभियान गाउँगाउँसम्म पुगेको छ ।

महाभारत गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान सञ्चालन गरिरहेको छ । किसानले कफीको बिरुवा रोप्न खाल्डो खनेपछि प्रति बिरुवा २० रुपैयाँ प्रोत्साहन दिइन्छ । यता खानीखोलाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रममार्फत किसानलाई उत्पादित कफीमा प्रतिकिलो ३५ रुपैयाँसम्म अनुदान दिँदै आएको छ ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा का अनुसार महाभारतलाई ‘कफी–हब’ बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको हो ।

“कफी खेती अब कृषि कार्यक्रम मात्रै होइन, गाउँको आर्थिक रूपान्तरणको आधार बनेको छ,” उनी भन्छन्, “किसानले अब मकैभन्दा कफीलाई आम्दानीको मुख्य स्रोतका रूपमा हेर्न थालेका छन् ।”

गाउँपालिकाले पछिल्ला दुई वर्षमा मात्रै दुई लाख २४ हजार कफीका बिरुवा वितरण गरिसकेको छ । तीमध्ये ४० हजार बिरुवा स्थानीय नर्सरीमै उत्पादन भएका हुन् । हाल गाउँपालिकाभित्र करिब एक हजार चार सय ३३ रोपनी क्षेत्रफलमा कफीखेती भइरहेको छ भने एक हजार दुई सयभन्दा बढी किसान यसमा आबद्ध रहेको जनाइएको छ ।

महाभारतका धेरै किसानका लागि कफी अहिले गाउँ नछोडी भविष्य खोज्ने माध्यम बन्न थालेको छ । वडा नं. ६ का किसान बाबुलाल घ्लान ले १२ वर्षदेखि कफीखेती गर्दै आएका छन् ।

“पहिला उत्पादन बेच्ने बजार थिएन,” उनले भने, “अहिले गाउँपालिकाले अनुदान, तालिम र प्रशोधन केन्द्रको सहयोग गरेपछि खेती बढाउने हिम्मत आएको छ ।”

डाँडापारिमा स्थापना भएको पल्पिङ सेन्टरपछि किसानले कफी प्रशोधनअघि नै बिक्री गर्न थालेका छन् । स्थानीयका अनुसार काँचो कफी प्रतिकिलो १३० रुपैयाँमा बिक्री हुन्छ भने प्रशोधनपछि मूल्य ८३० रुपैयाँसम्म पुग्ने गरेको छ ।

कृषि विकास कार्यालय का प्रमुख कुलप्रसाद दवाडी का अनुसार डाँडापारिमा हरेक वर्ष २० हजारदेखि ४० हजारसम्म कफीका बिरुवा वितरण हुँदै आएको छ ।

उनले किसानलाई पलपर मेसिन, सुकाउने त्रिपाल, सिँचाइ तथा रोग व्यवस्थापनसम्बन्धी सहयोग पनि उपलब्ध गराइएको बताए । “अब हाम्रो ध्यान उत्पादन मात्रै होइन, गुणस्तरीय कफी र बजार विस्तारमा पनि छ,” उनले भने ।

यता खानीखोला गाउँपालिका मा पनि कफीखेतीले किसानको जीवनशैली बदल्न थालेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ का अनुसार गाउँपालिकाभित्र अहिले ६० देखि ७० टनसम्म कफी उत्पादन भइरहेको छ ।

“पहिला किसान खाद्यबालीमै सीमित थिए,” उनले भने, “अहिले कफीले नगदे आम्दानी दिन थालेपछि धेरै परिवार यसतर्फ आकर्षित भएका छन् ।”

गाउँपालिकाले कफी किसानलाई प्रोत्साहन गर्न वार्षिक २० लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको जनाएको छ ।

यसैबीच, महाभारत गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्रै एक लाख १४ हजारभन्दा बढी कफीका बिरुवा रोप्ने लक्ष्य राखेको छ । वडा नं. ५ मा मात्रै यस वर्ष ३२ हजार बिरुवा रोपिएको छ भने वडा नं. २ र ३ मा ‘ब्लक विकास कार्यक्रम’ अन्तर्गत १७ हजार बिरुवा रोपिएको जनाइएको छ ।

स्थानीय तह, सहकारी र किसानको संयुक्त प्रयासले डाँडापारिका गाउँमा कफीखेती अहिले अभियानजस्तै बनेको छ । जहाँ पहिले वैदेशिक रोजगारीको चर्चा हुन्थ्यो, त्यहीँ अहिले कफीका बिरुवा, उत्पादन र आम्दानीको कुरा हुन थालेको छ ।

तपाईको प्रतिक्रिया