अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताको हत्या नगरेको, पत्नीले आत्महत्या गरेको र आफू डरका कारण शव लुकाउन बाध्य भएको दाबी गरेका छन्। ममताको शव भने बेपत्ता भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि फेला परेको छैन।
अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले पत्नीको शव व्यवस्थापन गर्न खोजेको, शरीरका विभिन्न भाग काटेको, शव फोहोरका झोलामा राखेको र ग्यारेजमा रहेको फोहोरमा फालेकोसम्मका विवरण खुलाएका छन्। उनको बयानले ममताको मृत्यु पछिको घटनाक्रमबारे नयाँ विवरण सार्वजनिक गरेको छ। यद्यपि, पत्नीको मृत्युको कारण र त्यसमा आफ्नो संलग्नताबारे उनले गरेको दाबी अभियोजन पक्षले अस्वीकार गर्दै आएको छ।
सन् २०२४ को गर्मीयाममा ममता बेपत्ता भएपछि नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लगाइएको थियो। घटनामा शव फेला नपरे पनि अभियोजन पक्षले विभिन्न प्रमाण, डिजिटल खोजी, सामान खरिद र भट्टका गतिविधिलाई आधार बनाउँदै मुद्दा अघि बढाएको छ।
मृत्युको खबर प्रहरीलाई दिनुको सट्टा शव लुकाउने प्रयास
अदालतमा भट्टले जुलाई २९, २०२४ को राति आफू करिब ८ बजे सुत्न गएको बयान दिएका छन्। त्यसबेला ममता भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठेका उनले पछि मास्टर बाथरुमतर्फ जाँदा असामान्य गन्ध महसुस गरेको बताए।
त्यसपछि पत्नीलाई खोज्दा बेडरूमको खाटनजिक भुइँमा अचेत अवस्थामा भेटेको उनको भनाइ छ। ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यसमा चक्की, रगत, क्याप्सुल र खानाका कण रहेको उनले अदालतमा बताएका छन्। त्यहाँ ‘सेल्फोस’ नामक कृषि विषादीसमेत देखेको उनको दाबी छ।
ममतालाई अचेत अवस्थामा भेटेपछि आफूले सीपीआर दिने प्रयास गरेको तर प्रहरी वा आपत्कालीन सेवामा तत्काल खबर नगरेको भट्टले स्वीकार गरेका छन्। पत्नीको मृत्युमा आफूलाई दोषी ठहर गरिने डरले आत्तिएर शव लुकाउने निर्णय गरेको उनको दाबी छ।
तर मृत्युको जानकारी तत्काल प्रहरीलाई नदिई शव व्यवस्थापन गर्ने प्रयास गरेको घटनाले अभियोजन पक्षको जिरहमा महत्वपूर्ण स्थान पाएको छ।
शव काट्न इलेक्ट्रिक आराको प्रयोग
ममताको शव फोहोरको डस्टबिनमा अटाउन नसकेपछि शरीरका विभिन्न भाग काटेर सानो बनाउने प्रयास गरेको भट्टले अदालतमा स्वीकार गरेका छन्। उनले शवका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको तर मानसिक र शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको बताएका छन्।
अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आराको प्रयोगसमेत उनले स्वीकार गरेका छन्। शव टुक्र्याउन चक्कु र अन्य सामग्री प्रयोग गरेको विषयमा पनि उनले बयान दिएका छन्।
शवका अवशेष फोहोरमा फाल्नुअघि घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर आफ्नो गाडीमा राखेको उनले बताए। उक्त फोहोर पछि फल्स चर्चमा फालेको उनको भनाइ छ।
त्यसपछि ममताको शव भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको उनले बताएका छन्। शवका अवशेष राख्न तीनवटा झोला प्रयोग गरेको आफ्नो अनुमान रहेको भट्टले अदालतमा सुनाए।
शवका टुक्रा अन्यत्र नभई घरको ग्यारेजमा रहेको फोहोरमै फालेको उनको दाबी छ।
अभियोजन पक्षका वकिलले शव टुक्राटुक्रा पारेर पहिचान हुन नदिन फोहोरमा फालेको हो भनी प्रश्न गर्दा भट्टले स्वीकार गरेका थिए। शव लुकाउन खोजेको स्वीकारोक्तिले घटनाको गम्भीरता थप उजागर गरेको छ।
शव व्यवस्थापनका लागि होम डिपो र वालमार्ट पुगे
शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्न आफू होम डिपो र वालमार्ट गएको भट्टले अदालतमा बताएका छन्। होम डिपोबाट पञ्जा किनेको स्वीकार गर्दै उनले पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बयान दिएका छन्।
ममताको मोबाइल फोन पछि नालीमा फालेको पनि उनले स्वीकार गरेका छन्।
अभियोजन पक्षले घटनापछि भट्टले गरेका गुगल खोजीलाई समेत जिरहको विषय बनाएको थियो। अगस्ट ५ मा भर्जिनियामा बेपत्ता व्यक्तिहरू फेला पर्ने सम्भावनाबारे खोजी गरेको हुन सक्ने उनले स्वीकार गरे।
अगस्ट १७ मा ‘के म आफ्नो बच्चा साथीलाई दिन सक्छु ?’ भन्ने विषयमा गरिएको खोजीबारे प्रश्न गर्दा उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोजिरहेको बताए।
‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्रीबारे गरिएको खोजीका विषयमा भने आफूलाई सबै कुरा याद नभएको उनको जवाफ थियो। अनुसन्धान अवधिमा आफूले कम्तीमा १४ हजार गुगल सर्च गरेको अनुमान उनले अदालतमा सुनाएका छन्।
घरेलु हिंसाको आरोप अस्वीकार
ममताका परिवारका सदस्य र साथीहरूले नरेशबाट घरेलु हिंसा हुने गरेको आरोप लगाउँदै आएका छन्। तर भट्टले अदालतमा आफूले पत्नीमाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।
उनले आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको बताएका छन्। सम्बन्धविच्छेदको कुरा गर्दा ममता आत्तिने र तनावमा पर्ने गरेको उनको भनाइ छ।
ममता सामाजिक सञ्जालका लागि टिकटक भिडियो बनाउँदा मात्रै खुसी देखिने गरेको पनि उनले बयान दिएका छन्।
अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिर अदालतमा प्रस्तुत गरेको थियो। उक्त तस्बिरमा ममताको दाहिने आँखामुनि नीलडाम तथा हात र नाकमा रगत देखिएको थियो। ममताले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ लेखेकी थिइन्।
त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए। तर भट्टले उक्त घटनामा आफू जिम्मेवार नभएको र ममतामाथि कहिल्यै हात नउठाएको दाबी गरेका छन्।
‘पत्नीलाई देखाएको प्रेम शरीर टुक्र्याउनु हो ?’
बिहीबार दिउँसो प्रतिरक्षा पक्षको प्रश्नोत्तर सकिएपछि अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टमाथि कडा जिरह गरेका थिए।
‘तपाईं झुटो बोल्ने व्यक्ति हुनुहुन्छ,’ स्वीटले भनेपछि अदालतमा उपस्थित केही व्यक्तिले ताली बजाएका थिए। त्यसपछि न्यायाधीश किम्बर्ली इर्भिङले अदालतमा शान्ति कायम गर्न निर्देशन दिएकी थिइन्।
स्वीटले भट्टले प्रहरीलाई ममता कहाँ छिन् भन्ने थाहा नभएको बताउँदै लामो समयसम्म झुटो बोलेको आरोप लगाए।
ममताप्रतिको प्रेमबारे प्रश्न गर्दै स्वीटले भने, ‘तपाईंले पत्नी र आफ्नी छोरीकी आमालाई देखाएको प्रेम भनेको उनको शरीर टुक्राटुक्रा पार्नु र फोहोरको डस्टबिनमा हाल्नु हो ?’
भट्टले आफूले गरेका काम स्वीकार गरेको जवाफ दिएका थिए।
अभियोजन पक्षले नगदमा सामान खरिद गरेको, मोबाइल फोन बन्द गरेको र घटनासँग सम्बन्धित प्रमाण हटाएको विषयमा पनि प्रश्न गरेको थियो।
नागरिकता आवेदनमा जन्मस्थानबारे विवाद
अदालतमा भट्टको नागरिकता आवेदनसम्बन्धी विवरण पनि उठाइएको थियो। उनले अमेरिकी नागरिकता आवेदनमा आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेको तर अदालतमा बयान दिने क्रममा भारतको नयाँदिल्लीमा जन्मिएको बताएको विषय अभियोजन पक्षले प्रश्न गरेको थियो।
‘यो झुट हो,’ अभियोजन पक्षका वकिल स्वीटले भने।
जवाफमा भट्टले ‘यो झुट होइन, संस्कृति हो’ भनेका थिए। उनको जवाफपछि अदालतमा उपस्थित व्यक्तिहरूबीच आश्चर्य र हाँसोको प्रतिक्रिया देखिएको थियो।
शव नभेटिए पनि मुद्दा निर्णायक चरणमा
बिहीबार साँझ करिब ५ बजे अभियोजन पक्षको जिरह सकिएको थियो। त्यसपछि न्यायाधीशले जुरी सदस्यहरूलाई बिदा गरेकी थिइन्।
प्रतिरक्षा पक्षले सोमबार पुनः केही प्रश्न गर्ने र त्यसपछि आफ्नो पक्षको बहस तथा प्रमाण प्रस्तुत गर्ने जनाएको छ।
ममताको शव अहिलेसम्म फेला नपरेको अवस्थामा नरेशको बयानले घटनापछिको शव व्यवस्थापनबारे महत्वपूर्ण विवरण सार्वजनिक गरेको छ। उनले शव टुक्र्याएको र फोहोरमा फालेको स्वीकार गरे पनि ममताले आत्महत्या गरेको दाबी गर्दै आएका छन्।
अदालतमा प्रस्तुत प्रमाण, अभियोजन पक्षको जिरह र प्रतिरक्षा पक्षको दाबीका आधारमा अब जुरीले घटनाको वास्तविकता निर्धारण गर्नेछ। ममताको मृत्युको कारण, शव लुकाउनुको उद्देश्य र नरेशको आपराधिक जिम्मेवारीबारे अदालतको निर्णय यस मुद्दाको निर्णायक पक्ष हुनेछ।

तपाईको प्रतिक्रिया