बालबालिकाको प्रतिभा प्रस्फुटन गराउँदै रामभक्त मेमोरियल

कक्षाकोठामा सिकेका कुरा मञ्चमा प्रस्तुत गर्ने अवसर पाउँदा साना बालबालिकाको अनुहारमा देखिने उत्साह र आत्मविश्वासले उनीहरूको प्रतिभा चिनाउने नयाँ बाटो खोलेको छ । बनेपास्थित रामभक्त मेमोरियल स्कुलले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको ‘आरएमएस योङ्ग च्याम्पियन्स २०८३’ बालबालिकाको क्षमता, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने अवसर बनेको छ ।

बालबालिकाको रुचि, क्षमता र प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई खुलेर प्रस्तुत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीका साथै अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । अतिरिक्त क्रियाकलापमार्फत बालबालिकाको सिकाइलाई रमाइलो, व्यावहारिक र प्रभावकारी बनाउने विद्यालयको प्रयासका रूपमा कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयका प्रिन्सिपल सुमन कोख श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै वैद्यले बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रविधि र व्यावहारिक सीपसँग जोड्नुपर्ने बताउनुभयो । समयअनुसारको शिक्षा प्रदान गर्न सके बालबालिकाले भविष्यमा रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास हुने उहाँको भनाइ थियो ।

बालबालिकाको सिकाइलाई जीवनोपयोगी बनाउन विद्यालयले खेल, सिर्जना र व्यावहारिक अभ्यासलाई शिक्षासँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर र सिर्जनशील बनाउने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । विद्यार्थीलाई जागिर खोज्ने मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्ने जनशक्तिका रूपमा विकास गर्न शिक्षासँगै व्यावहारिक ज्ञान र सीपको विकासलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष मोतीराम तिमल्सिना र काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदारले प्रविधिको सही प्रयोग र समयसापेक्ष शिक्षाको आवश्यकतामा जोड दिनुभयो । विद्यार्थीको सिकाइ उपलब्धि र व्यावहारिक क्षमताको विकासमा विद्यालयको भूमिका महत्वपूर्ण हुने उहाँहरूको धारणा थियो ।

कार्यक्रममा अभिभावक पूजन महर्जन, कार्यक्रम संयोजक एवं शिक्षक विक्रम प्रजापति, पत्रकार केशवराज पौडेललगायतले बालबालिकाको सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलापको महत्व औँल्याउनुभयो । यस्ता कार्यक्रमले बालबालिकामा रहेका सम्भावना उजागर गर्नुका साथै उनीहरूमा आत्मविश्वास बढाउन र विद्यालय तथा अभिभावकबीचको सम्बन्ध बलियो बनाउन सहयोग पुग्ने उहाँहरूको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया