नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मधुसुधन गुरागाईं

काभ्रेली सञ्चारकर्मी मधुसुधन गुरागाईं नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा सम्पन्न मञ्चको १३औँ वार्षिक साधारण सभाले गुरागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पत्रकारितामा २५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका गुरागाईं हाल काभ्रे न्युज अनलाइनमा आबद्ध हुनुहुन्छ ।

उहाँले यसअघि नागरिक, रिपब्लिका लगायतका राष्ट्रिय दैनिक तथा विभिन्न सञ्चार संस्थामा रहेर पत्रकारिता गर्नुभएको छ ।

साधारण सभाबाट उपाध्यक्षमा रोहन श्रेष्ठ, सचिवमा स्मिथु घिसिङ र कोषाध्यक्षमा राजकुमार तिमिल्सेना निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यमा वर्षा गौतम, उषा भट्टराई र अदिति पोखरेल चयन हुनुभएको मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै निवर्तमान अध्यक्ष राजन पोखरेलले नयाँ नेतृत्वले मञ्चलाई थप सक्रिय र सशक्त बनाउँदै नेपालमा विज्ञान पत्रकारिताको विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच, मञ्चले पूर्वअध्यक्ष राजन पोखरेलको नेतृत्वमा कार्यक्रम समिति गठन गरेको छ । समितिको कार्यक्रम निर्देशकको जिम्मेवारी पोखरेलले नै सम्हाल्नुहुनेछ । समितिमा डा. अखण्डराज उप्रेतीलाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको छ ।

समितिका अन्य सदस्यमा छत्र कार्की, राजेन्द्र खनाल, डा. प्रयाण पोखरेल र उत्सव सिलवाल रहनुभएको छ ।

कार्यक्रम समितिले देशभर विभिन्न गतिविधि सञ्चालन गर्ने, विज्ञान पत्रकारितामा नयाँ अवसर सिर्जना गर्ने तथा विज्ञान लेखन र पत्रकारिताको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

नयाँ नेतृत्व र कार्यक्रम समितिको गठनसँगै नेपालमा विज्ञान पत्रकारिताको संस्थागत विकास, विस्तार र गुणस्तरीय प्रवर्द्धनमा मञ्चले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया