सरकारले नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण गर्न उपचारमा मात्र निर्भर नभई रोकथाम, स्वास्थ्य प्रवर्धन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर बहुक्षेत्रीय रणनीति कार्यान्वयन गर्ने भएको छ । नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रसँगै शिक्षा, कृषि, उद्योग, स्थानीय सरकारलगायतका निकायबिच समन्वय र सहकार्य बढाउने सरकारको तयारी छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीश अग्रवालको अध्यक्षतामा बसेको बैठकले नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र नियन्त्रणका उपायबारे छलफल गरेको थियो । प्राडा अग्रवालले नसर्ने रोगको जोखिम घटाउन नागरिकको जीवनशैलीमा सुधार ल्याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नसर्ने रोग नियन्त्रणका लागि उपचारात्मक सेवाभन्दा रोकथाम र स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नसर्ने रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी नभई सबै क्षेत्र र तहको साझा दायित्व भएकाले अन्तरमन्त्रालय समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार बैठकले नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि स्वास्थ्य प्रवर्धनका कार्यक्रमलाई प्रभावकारी बनाउने, बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयनका विषयमा सबै मन्त्रालयसँग अन्तर्क्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसै गरी स्थानीय तहसँग समन्वय गरी समुदायस्तरमा नसर्ने रोगसम्बन्धी जनचेतना विस्तार गर्ने, विद्यालय तहदेखि सार्वजनिक स्वास्थ्य शिक्षा लागु गर्ने तथा विशेषज्ञ चिकित्सकलाई स्वदेशमै टिकाइराख्ने वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया