बिदालाई सीप सिक्ने अवसर बनाऔँ

केशव श्रेष्ठ, सहायक प्रिन्सिपल काभ्रे मावि बुडोल

विद्यालय बिदा भएपछि बालबालिकासँग प्रशस्त खाली समय हुन्छ । यो समय मोबाइल र टेलिभिजनमा मात्रै बिताउने कि जीवनोपयोगी सीप सिक्ने अवसर बनाउने भन्ने कुरा अभिभावकको व्यवहार र पारिवारिक वातावरणमा निर्भर हुन्छ ।

बालबालिकालाई उमेर र रुचिअनुसार घरका सानातिना काममा सहभागी गराउँदा उनीहरूमा जिम्मेवारीबोध, सिर्जनशीलता र आत्मनिर्भर बन्ने बानी विकास गर्न सकिन्छ । घरायसी कामलाई बोझका रूपमा नभई सिकाइको अवसरका रूपमा प्रस्तुत गर्न सके बिदाको समय उपयोगी बन्न सक्छ ।

आफ्नो ओछ्यान मिलाउने, खेलौना र किताब निश्चित ठाउँमा राख्ने, कपडा पट्याउने तथा खाइसकेपछि आफ्नो थाल भान्छामा लैजानेजस्ता कामबाट बालबालिकाले अनुशासन र जिम्मेवारी सिक्न सक्छन् । यस्ता सामान्य कामले उनीहरूलाई आफ्ना सामानको हेरचाह गर्न र परिवारका सदस्यसँग मिलेर काम गर्न प्रेरित गर्छन् ।

बिदाको समयमा सिर्जनात्मक गतिविधिमा पनि बालबालिकालाई सहभागी गराउन सकिन्छ । चित्र कोर्ने, रङ भर्ने, पुराना कागजबाट नयाँ सामग्री बनाउने, कथा पढ्ने तथा आफ्नै कल्पनामा आधारित कथा लेख्ने गतिविधिले उनीहरूको कल्पनाशक्ति र अभिव्यक्ति क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ । दैनिक डायरी लेख्ने बानीले आफ्ना अनुभवलाई शब्दमा उतार्ने अभ्याससमेत गराउँछ ।

प्रकृतिसँग नजिक हुने अवसर पनि बिदाको अर्को महत्त्वपूर्ण पक्ष हो । करेसाबारीमा पानी हाल्ने, फूलका बिरुवाको हेरचाह गर्ने र बोटबिरुवाको वृद्धि नियाल्ने कामबाट बालबालिकाले प्रकृतिप्रति चासो राख्न सिक्छन् । अभिभावकको निगरानीमा फलफूल धुने, सलाद तयार गर्ने र सर्वत बनाउनेजस्ता काममा सहभागी हुँदा उनीहरूले आधारभूत व्यावहारिक सीप सिक्न सक्छन् ।

त्यस्तै, बिहानको हल्का व्यायाम, योग, खेलकुद र पुस्तक पढ्ने बानीले शारीरिक तथा मानसिक सक्रियता बढाउन मद्दत गर्छ । हजुरबुबा–हजुरआमासँग समय बिताउने, उनीहरूका अनुभव र पुराना कथा सुन्ने तथा परिवारका सदस्यसँग कुराकानी गर्ने अवसरले बालबालिकाको सामाजिक सम्बन्ध र पुस्तान्तरणबाट प्राप्त हुने ज्ञानलाई बलियो बनाउन सक्छ ।

प्रविधिको प्रयोगलाई पनि सिकाइसँग जोड्न सकिन्छ । मोबाइल वा टेलिभिजनमा लामो समय बिताउनुको सट्टा उमेरअनुकूल शैक्षिक सामग्री हेर्ने, नयाँ भाषा सिक्ने वा आधारभूत डिजिटल सीप अभ्यास गर्ने अवसर दिन सकिन्छ । तर, स्क्रिन प्रयोगको समय र सामग्रीबारे अभिभावकले ध्यान दिनु आवश्यक हुन्छ ।

बालबालिकालाई घरको काममा सहभागी गराउँदा उनीहरूको उमेर, क्षमता र रुचिलाई प्राथमिकता दिनुपर्छ । काम गर्न बाध्य पार्ने वा गल्ती गर्दा गाली गर्नेभन्दा कामको उद्देश्य बुझाउने, सँगै काम गर्ने र प्रयासको प्रशंसा गर्ने तरिकाले सिकाइलाई सहज बनाउन सक्छ । धारिलो औजार, आगो, तातो भाँडाकुँडा र जोखिमपूर्ण उपकरण प्रयोग गर्नुपर्ने काममा भने विशेष सावधानी आवश्यक हुन्छ ।

बिदा भनेको पढाइबाट विश्राम लिने समय मात्रै होइन, परिवारसँग नजिकिने, नयाँ अनुभव बटुल्ने र जीवनोपयोगी सीप सिक्ने अवसर पनि हो । अभिभावकले बालबालिकालाई उमेरअनुसारका साना जिम्मेवारी दिएर खेल, सिर्जना, अध्ययन र आरामबीच सन्तुलन मिलाउन सके बिदालाई सिकाइ र व्यक्तित्व विकासको अवसर बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया