गोरखाको चुमनुब्रीस्थित बुढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढीको पछाडि हिमपहिरो र भुकम्प समेत मापन गरिएको छ । ग्रेगान सहितको बाढी लगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जियोलोजिष्ट डा. प्रकाश पोख्रेलको नेतृत्वमा आईतबार नै विशेषज्ञको टोलिलाई गोरखा पठाएको थियो ।
स्थलगत रुपमा ड्रोनको समेत प्रयोग गरेर जियोलोजिष्टको टोलीले गरेको अध्ययन अनुसार बुढीगण्डकीमा आएको ग्रेगान सहितको बाढीको पछाडि सुख्खा पहिरोमात्र नभएर बहुकारण रहेको पुष्टि भएको हो ।
जियोलोजिष्ट डा. प्रकाश पोख्रेलले तामार र सिरिङ्गे हिमालको बिचमा बग्ने स्यार खोलामा सुरुमा चट्टान सहितको हिम पहिरो खसेको देखिएको बताउनुभयो । लगत्तै सुख्खा पहिरोले खोला करिब डेढघन्टा थुनिएको पाईएको उहाँले स्पष्ट पार्नुभयो ।
ड्रोनको सहायतले नदीको उद्गमस्थलदेखि पहिरो आएको क्षेत्रसम्म खिचिएको भिडियो, फोटो र बाढीले ल्याएको सामाग्रीको अध्ययन गर्दा बाढीको आउनुको पछाडी बहुपक्षिय कारण देखिएको उहाँले बताउनुभयो ।
हिमपहिरो गएलगत्तै स्यार खोला डेढ घन्टा आधा थुनिएपछि खुलेको हो । खोलामा लागेको बाँध एकै पटक नभएर विस्तारै विस्तारै पटक पटक गरि खुलेको थियो । जसको कारणले एकै पटक पानी बग्न पाएन र क्षति कम भएको उहाँले बताउनुभयो ।
बाँध खुलेपछि पानीसँगै ठूलो मात्रामा माटो, ढुङ्गा, बालुवा, रूखका हाँगाबिंगा र अन्य ठोस वस्तुहरू -गेग्रान) मिसिएर आएको देखिएकाले सुख्खा पहिरोमात्र नभएर हिमनदीमा चट्टान सहितको पहिरो गएको पुष्टि भएको बताउनुभयो ।
गोरखाको चुमनुब्रीमा पहिरो खसेर खोला थुनिएको समय आसपास जमिनमा कम्पन भएको सङ्केत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले उल्लेख गरेको छ ।
केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता राजन भट्टराईले अनुसार आइतवार बिहान साढे चार बजेतिर ४.२ रेक्टर स्केल आसपासको भुकम्प मापन गरिएको बताउनुभयो ।
भुगर्भविद् शिवकुमार बाँस्कोटाले बाढीको प्रकृतिले हिमपहिरो रहेको पुष्टि गर्ने धेरै आधार देखाएको बताउनुभयो । उहाँले हिमनदी तथा हिमताल प्रणालीमा निरन्तर परिर्वतन आईरहेको पुष्टि आईतबारको बाढीले गरेको बताउनुभयो ।
नदीको माथिल्लो जलाधार क्षेत्रमा ठूला पहिरो जानु र चट्टान खसेर नदीको बहाव एक्कासि थुनिनु थुनिएको पानी अचानक फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आउनेक्रम बढेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालमा पछिल्ला वर्ष बाढीको स्वरूप फेरिँदै गएको उहाँले बताउनुभयो । पानीसँगै माटो, ढुङ्गा र गेग्रान बगाएर आउने बाढीले सामान्य बाढीभन्दा बढी क्षति पु¥याउने गरेको छ ।
भूकम्पले कमजोर बनाएको भू–बनोट, अव्यवस्थित सडक निर्माण, पहिरोले नदी थुनिनु र जलवायु परिवर्तनका कारण यस्तो जोखिम बढेको बाँस्कोटाले बताउनुभयो । लेदो तथा गेग्रानले नदीको सतह उकास्दै बाढीलाई बस्तीमा पस्न र फराकिलो क्षेत्रमा फैलिन सघाउने गर्दछ । जोखिम न्यूनीकरणका लागि सडक निर्माणबाट निस्कने माटोको उचित व्यवस्थापन, नदीको बहाव क्षेत्र संरक्षण, वैज्ञानिक संरचना निर्माण र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
लेदो सहितको बाढी आउनुको बहुकारण
2026-10-13T06:45:40+05:45

तपाईको प्रतिक्रिया