भारी बर्षाको जोखिममा विपी राजमार्ग राती बन्द गरिने

आगामी असोज ८ देखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि विपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा बसेको सरोकारवाला निकायको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो।

बैठकले वर्षा, बाढी र पहिरोको अवस्था हेरी आवश्यक परे दिनको समयमा समेत सवारी सञ्चालनमा रोक लगाउन सकिने निर्णय गरेको छ। त्यससम्बन्धी आवश्यक निर्णय जिल्ला प्रहरी कार्यालय काभ्रेले गर्ने जनाइएको छ।

निर्णय कार्यान्वयनका लागि सिन्धुली र भक्तपुर जिल्लाका प्रहरी युनिटसँग समन्वय गरिनेछ। राजमार्ग आसपासका नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने र स्थानीय सञ्चारमाध्यममार्फत जनचेतनामूलक सूचना प्रसारण गर्ने निर्णय पनि बैठकले गरेको छ।

सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई तत्काल परिचालन गर्न नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रे र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टरका टोलीलाई तयारी अवस्थामा राखिने भएको छ।

स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गरी उद्धार तथा राहत कार्य प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएपछि सम्भावित बाढी–पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रशासनले पूर्वसतर्कताका उपाय लागू गरेको हो।

तपाईको प्रतिक्रिया