मेहनतको सम्मान : बनेपामा एसईई उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित


बनेपा — मेहनत, अनुशासन र निरन्तर अभ्यासले सफलता दिलाउँछ भन्ने सन्देशलाई आत्मसात् गर्दै बनेपा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ।

नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरिएको हो। कार्यक्रममा सफल विद्यार्थीहरूको मुस्कान, अभिभावकको गर्व र शिक्षकहरूको उत्साहले शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको देखिन्थ्यो।

यस वर्ष बनेपाबाट ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्। तीमध्ये दुई जना सामुदायिक विद्यालय र चार जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन्। नगरपालिकाले उनीहरूलाई जनही १० हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य रहेको बताए। “हामीले सोचेअनुसारको नतिजा अझै आउन सकेको छैन, त्यसैले आगामी वर्ष थप मेहनत र सुधार आवश्यक छ,” उनले भने। गत वर्ष ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष ८५ प्रतिशतमा सीमित भएकाले सबै पक्ष अझ जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

उपप्रमुख विमला सापकोटाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको प्रशंसा गर्दै मेहनत र अनुशासनकै कारण सफलता सम्भव भएको बताइन्। उनले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न विद्यार्थीहरूलाई शुभकामना दिँदै यस्तो सम्मानले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, शिक्षा शाखा प्रमुख उपसचिव देवराज निरौला, प्याब्सनका केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल तथा चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेलगायतले सम्मान कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र थप उत्साह जागृत गर्ने धारणा राखेका थिए।

नगरपालिकाका अनुसार यस वर्ष बनेपाका १९ वटा संस्थागत र तीन वटा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन्। ती विद्यालयलाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीले गरेका थिए।

तपाईको प्रतिक्रिया