
बनेपा — विद्यालय केवल पढाइ हुने ठाउँ मात्रै होइन, सपना देख्ने, आत्मविश्वास बढाउने र सफलताको यात्रा सुरु हुने थलो पनि हो । शुक्रबार बनेपा–६ बुडोलस्थित श्री भक्तेश्वर गोसाईकुण्ड माध्यमिक विद्यालयमा देखिएको दृश्यले यही सन्देश दिएको थियो ।
विद्यालय परिसरमा विद्यार्थीहरूको उत्साह, अभिभावकको गर्व र शिक्षकहरूको खुसी मिसिएको वातावरण थियो । नयाँ भर्ना भएका बालबालिकालाई स्वागत गरिँदै थियो भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित हुँदै थिए ।
विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना भएका ५२ जना विद्यार्थीलाई स्वागत गरिएको थियो । साथै शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सतप्रतिशत नतिजा ल्याउन सफल १४ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यससँगै प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले सीमित स्रोत–साधनका बीच पनि सतप्रतिशत नतिजा ल्याउन सफल विद्यालय परिवारलाई बधाइ दिँदै सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।
“सफलता केवल नतिजामा मात्र होइन, विद्यालयले सिर्जना गरेको सकारात्मक शैक्षिक वातावरणमा पनि देखिन्छ,” नगर प्रमुख शाक्यले भने, “यस्ता विद्यालयले समाजलाई आशा दिन्छन् ।”
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहालले विद्यालयलाई नगरपालिकामार्फत आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
बनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवराज निरौलाले अपर्याप्त शिक्षक दरबन्दी र सीमित स्रोतका बाबजुद विद्यालयले उत्कृष्ट नतिजा ल्याएको भन्दै प्रशंसा गरे । उनले मेहनती शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बन्दै गएको बताए ।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । विज्ञान शिक्षक साजन मानन्धर, अंग्रेजी शिक्षिका संगीता खत्री, गणित तथा ऐच्छिक गणित शिक्षक तुलसीप्रसाद त्रिपाठी, कम्प्युटर शिक्षक गंगाराम ठकुरी, सामाजिक विषयकी शिक्षिका इश्वरी होमागाई तथा विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको हो ।
त्यस्तै, नेपाली विषयमा उच्चतम जिपिए प्राप्त गराउन सफल शिक्षिका दिपेश्वरा दाहाललाई नगद पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रम केवल औपचारिक सम्मानमा सीमित रहेन । विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमले विद्यालय परिसरलाई उत्सवमय बनाएको थियो । गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमा विद्यार्थीहरूको प्रतिभा झल्किएको देखिन्थ्यो ।
कार्यक्रम सञ्चालन शिक्षक गंगाराम ठकुरीले गरेका थिए ।
सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास, विद्यार्थीको मेहनत र शिक्षकहरूको समर्पणले भक्तेश्वर गोसाईकुण्ड माध्यमिक विद्यालय अहिले बनेपाको शैक्षिक क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा उभिएको छ ।

तपाईको प्रतिक्रिया