कुनै बेला मुलुककै सबैभन्दा दिगो राजमार्गको रूपमा परिचित बिपी राजमार्ग अहिले सानो वर्षामा पनि बन्द हुने अवस्था छ । २०८१ असोज १२ गते अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीपहिरोले उक्त राजमार्ग बगाएयता असार साउनको वर्षा त के हिउँदे क्षणिक वर्षाले समेत राजमार्ग अवरुद्ध हुने गरेको छ ।
राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपाल र काठमाडौँबिचको यातायात सञ्चालनमा ठुलो सास्ती हुने गरेको छ । बाढीले बगाएको दुई वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म यस राजमार्गमा ढुक्क भएर सवारीसाधन चलाउने अवस्था छैन । क्रसर व्यवसायीले रोसी खोला क्षेत्रमा उत्खनन गरेर उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि आउन थाल्यो । खोलाको सतह माथि आएकै कारण सानो पानी पर्दा पनि अहिले रोसी खोला राजमार्गको माथि भएर बग्ने अवस्था सिर्जना भएको छ ।
अहिले जापान सरकारबाट प्राप्त हुने २.६१ अर्ब रुपियाँको अनुदान र नेपाल सरकारको आठ अर्ब रुपियाँको लगानीमा सो राजमार्गको पुनः निर्माण प्रक्रिया अगाडि बढेको छ । तर ठुलो लगानीबाट बन्ने सडकको स्थायित्वबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । अहिले रोसी खोला क्षेत्रमा एघार वटा ढुङ्गाखानी र एघार वटा क्रसर उद्योग सञ्चालित छन् ।
क्रसर उद्योग र ढुङ्गाखानीलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिने हो खोलाको सतह अझ माथि आउने र ठुलो लगानीमा पुनः निर्माण हुने राजमार्गको कुनै अर्थ र औचित्य नहुने विज्ञहरूको भनाइ छ । खोलाको सतह बढेकै कारण गत वर्षको भन्दा कम पानी परेको अवस्थामा पनि बिपी राजमार्ग सहजै बग्न सक्ने उहाँहरूको दाबी छ । ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाति’ भने जस्तै क्रसर उद्योग र ढुङ्गाखानीको व्यवस्थापन गरेर मात्र राजमार्ग पुनः निर्माण गर्नु उहाँहरूको सुझाव छ । बिपी राजमार्गको स्थायित्वका लागि केवल मर्मत मात्र नभई रोसी खोलाको बहाब व्यवस्थापन र भू–प्राविधिक सुधारसहितको एकीकृत पुनर्निर्माण आवश्यक रहेको उहाँहरूको भनाइ छ ।
भूप्रविधिविज्ञ डा. मन्दीप सुवेदी रोसी खोला क्षेत्रमा सञ्चालित ढुङ्गाखानी र क्रसर उद्योगहरूलाई व्यवस्थापन गरेर बिपी राजमार्गको पुनर्निर्माण गर्न सुझाव दिनुहुन्छ । इन्जिनियरिङ विधि अनुसार व्यवस्थित तरिकाले खानी र क्रसर सञ्चालन गर्नुपर्ने सुझाव दिँदै उहाँले इन्जिनियरिङ अध्ययन र अनुसन्धान गरेर मात्र खानी खन्न र ढुङ्गागिट्टी वा बालुवा निकाल्नुपर्ने बताउनुहुन्छ । खानी खनेर खोलानालाभन्दा कतिको दुरीमा राख्ने, ढुङ्गाबालुवाको गेग्रान नबग्ने गरी कसरी बनाउनेलगायत विषयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । राजमार्ग आसपासका क्षेत्रमा सञ्चालित अनियन्त्रित क्रसर उद्योग र ढुङ्गा–गिट्टी उत्खननले खोलाको धार परिवर्तन गराई सडक जोखिममा पारेकाले यसलाई कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताउँदै उहाँले खानी र क्रसर उद्योग सञ्चालन गरेको ठाउँमा बायोइन्जिनियरिङका आधारमा रुखबिरुवा लगाउनुपर्ने, रिटेनिङ पर्खाल लगाउनुपर्ने भए पनि नेपालका सन्दर्भमा त्यस्तो नगरिएको पाइएको उहाँको भनाइ छ ।
सफा पानीभन्दा ढुङ्गा, बालुवा र माटोलगायत गेग्रानसहित आउने बाढीको भार सामान्य पाँच गुणा र बढीमा १५ गुणासम्म बढी हुने भएकाले यस प्रकारका बाढीले सडक, पुललगायत भौतिक संरचनामा ठुलो क्षति पु¥याउने अनुसन्धानले देखाएको बताउँदै उहाँले अबका दिनमा रोसी खोलामा बग्ने पानी र आउन बाढीपहिरोको भार सामान्यभन्दा कैयौँ गुणा बढी हुने भएकाले यसले बिपी राजमार्ग वा सो क्षेत्रमा निर्माण हुने भौतिक संरचनामा ठुलो क्षति पु¥याउने बताउनुहुन्छ । यस्तो अवस्थामा पानीको मात्रा कम भए पनि त्यसको भार अत्यधिक हुने भएकाले कम पानीले पनि ठुलो क्षति पुग्ने उहाँको भनाइ छ ।
वरिष्ठ भूगर्भविद् शिवप्रसाद बाँस्कोटाले रोसी खोला क्षेत्रमा खानी र क्रसर उद्योगबाट निस्कने गेग्रानहरूको उचित व्यवस्थापन हुन नसकेको र गेग्रानहरू खोलामा जाने भएकाले सो क्षेत्रमा खोलाको सतह बढ्दै गएको बताउनुहुन्छ । ढुङ्गाखानी र क्रसर उद्योगबाट उत्सर्जन हुने गेग्रानको रोसी खोलामा नै विसर्जन हुँदै आएकाले खोलाको सतह बढ्दै गएको बताउँदै उहाँले खानी र क्रसर उद्योगहरूबाट उत्पन्न हुने यस प्रकारका समस्याको उचित व्यवस्थापन गरेर बिपी राजमार्ग पुनर्निर्माणको औचित्य हुन सक्ने स्पष्ट पार्नुहुन्छ । राजमार्ग निर्माणसँगै खानी र क्रसर उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा स्पष्ट पार्दै उहाँले यस प्रकारका उद्योग व्यवसायहरू नियम अनुसार सञ्चालन हुनुपर्ने, उत्सर्जन भएका गेग्रानको सुरक्षित विसर्जन गर्नुपर्ने बताउनुहुन्छ । अहिलेकै अवस्थामा यस प्रकारका उद्योगहरू सञ्चालन गर्न दिने हो भने त्यसले समस्या निम्त्याउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । यो राजमार्ग हलुका सवारीका लागि डिजाइन गरिएको हुनाले, तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई पूर्ण प्रतिबन्ध लगाएर सडकको आयु बढाउन सकिन्छ ।
सडक भएर नै बग्छ भेल
अहिले माथिबाट आउने गेग्रानसहितको भेल पनि सडकबाटै बग्छ । अनि सवारीसाधन सञ्चालनका लागि भनी निर्माण गरिएको डाइभर्सनबाट नै खोलाको भेल बग्ने गरे पनि त्यो भेल तर्काउने कुनै उपाय अपनाइएको देखिँदैन ।
सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इ. दीपक याकामीले गेग्रानसहितको भेललाई डाइभर्सनसम्म आउन नदिन गत वर्ष आवश्यक उपाय अपनाइए पनि यो वर्ष बिनामौसम अचानक पानी परेकाले त्यस्तो उपाय नअपनाइएको तर्क गर्नुभयो । खोलाको पानीलाई डाइभर्सनसम्म पुग्न नदिन छिट्टै नै आवश्यक उपाय अपनाइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया