
जेनजी आन्दोलनमा उप्रदो मच्चाउने सात जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न सात जना पक्राउ गरेको काभे्र प्रहरी प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
भदौ २४ गते काभ्रेपलाञ्चोकमा सरकारी तथा नीजि भवन र सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्न सात जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा पनौती नगरपालिका ३ का अनिष सापकोटा, वडा नम्बर ८ का सुमन केसी, वडा नम्बर १० का साकार केसी, वडा नम्बर २ का स्यान्जि भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समिर तामाङ, वडा नम्बर ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान छन् ।
पनौती–३ का अनिष सापकोटा पटके अभियुक्त हुन् । उनी विरुद्ध यसअघि समेत मुद्धा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेजनी आन्दोलनपछि पनि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएका थिए । बेथानचोकका होमप्रसाद तिमल्सिना पनि पटके हुन् । तिमल्सिना विरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पनौती–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ । उनी पनि पटके हुन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले उनीहरलाई पक्राउ गरेको हो । उनीहरुमाथी काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया