‘पढ्दै कमाउँदै’सामुदायिक विद्यालयका विद्यार्थी

सहरका बालबालिका गाडीमा चढेर विद्यालय जानुहुन्छ । बुबाआमाले टन्न टिफिन खर्च दिनुहुन्छ । विद्यालयमा पनि निक्कै सुविधा पाउनुहुन्छ । तर अझै पनि पढाई खर्चको अभावमा ग्रामीण क्षेत्रका बालबालिकाले बिचमै पढाई छोड्नु पर्ने बाँध्यता छ ।
ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसकेपनि सरकारले त्यस्ता बालबालिकालाई लक्षित गरेर पढ्दै कमाउँदै योजना ल्याएको छ । जसको कारणले आर्थिक अभावले बिचमै पढाई छोड्न बाँध्य हुने बालबालिकालाई भने निक्कै राहत मिलेको छ । पढ्दै कमाउँदै योजना विद्यालयमा आएपछि विद्यार्थीमात्रै नभएर अभिभावक पनि यसबाट प्रभावित बन्नुभएको छ ।
नेपालभरका १४० विद्यालयका विद्यार्थी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै (लर्निङ बाई अर्निङ) गरिरहेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि २०७८ स्विकृत भएपछि ग्रामीण दुरदराजका कमजोर आर्थिक अवस्था भएका बालबालिका यसबाट खुसी छन् ।
बिहान र साँझ उनीहरुका लागि कमाउने सीप सिकेर आफ्नो पढाई खर्च आफै जुटाइरहेका छन् । त्यसले गरिब किसान अभिभावकलाई समेत निक्कै राहत मिलेको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने र स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेर यो कार्यक्रम सुरु गरेको नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोकमा रहेको जनक माविका प्रधानाध्यापक प्रदीप पोख्रेलले अनुभव रहेको छ ।
उहाँको विद्यालयमा २२ जना विपन्न विद्यार्थीलाई घरमा बाख्रा पालनको लागि पठाइएको छ । १८ वटा बाख्रा विद्यालयकै फार्ममा नमुनाका लागि राखिएको छ । बाख्रापालनका लागि बनाइएको कार्यविधि अनुसार बाख्राले जन्माएको पहिलो बेतको सन्तान विद्यालयलाई दिनुपर्ने र त्यसपछिका उत्पादन भने विद्यार्थी आफैंले लिएर फाइदा लिन सक्नेछन् । एउटा पाठीबाट १० हजार र बोकाबाट १२ देखि १५ हजार रुपैयाँसम्म सहजै मुनाफा पाइने भएकाले विद्यार्थीहरु यो कार्यबाट निक्कै खुसी देखिएका छन् ।
जनक माविको कक्षा १० मा अध्ययनरत पुष्पा सिग्देल र अनमोल अधिकारीको दैनिकी फेरिएको छ । उहासँगै १२० जना विद्यार्थी बाख्रा, मौरीपालन र अदुवा खेतीमा रमाइरहेका छन् । विद्यालयले आर्थिक उपार्जनका लागि एउटा बाख्रा दिएपछि पढाइसँगै बाख्राकोे रेखदेखमा समय दिन थाल्नु भएको उहाँहरुको भनाई छ ।
पशु विज्ञान विषयमा अध्ययनरत भएकाले पनि यसको स्याहारसुसारका बारेमा धेरै कुरा थाहा भएको पुष्पाको भनाई छ । विद्यालयले पनि व्यावहारिक ज्ञानसँगै यसबाटै आयआर्जनको लागि बाख्रा वितरण गरेको हो, यसबाट आम्दानीसँगै धेरै कुरा सिक्ने मौका विद्यार्थीलाई मिलेको छ ।
सरकारले कृषि (बाली विज्ञान–पशु विज्ञान–वागबानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यवसायिक कीट (मौरी पालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा कार्यक्रम लागू गरेको छ । त्योमध्ये कृषिमा काम जनक माविले गरिरहेको छ ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य यो कार्यक्रमले राखेको छ ।
सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध भएर धेरै कुरा सिकेको सुनाउनुहुन्छ । विद्यालयमा आएर धेरै कुरा सिकेको र त्यो कुरालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत कृषिमा आबद्ध उहाँले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका सुनाउनुहुन्छ । विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा–आमालाई पनि सिकाउन पाएकोमा निक्कै खुसी हुनुहुन्छ उहाँ ।
शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनु भएको छ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न यो आयोजना सुरुवात भएको हो ।
विद्यार्थीले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य पदार्थ र अन्य वस्तु तथा सेवालाई दिवा खाजाको रूपमा विद्यालयमा उपयोग गर्ने वा स्थानीय बजारमा बिक्री वितरण हुन थालेपछि त्यसबाट नियमित रुपमा विद्यार्थीले आम्दानी समेत लिन थालेका छन् ।
अहिले नमुनाको रुपमा भएको कार्यक्रमलाई सबै विद्यालयसम्म पु¥याउन सकेमा विद्यालय नै रोजगारी सृजना गर्ने थलोको रुपमा विकास हुने अपेक्षा अभिभावकले गर्नुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया